सुन तस्करीमा उम्किन खोज्यो विमानस्थल कार्यालय, सीसीटीभीको क्षमता अझै उस्तै

१० पुष २०८०, मंगलवार १७:००

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय बजेट अभावले सीसीटिभी क्यामेराको रेकर्ड ३ महिनासम्म रहने व्यवस्था मिलाउन नसकिएको भन्दै सुन तस्करीको मुद्दामा उम्किन खोजेको छ । विमानस्थल कार्यालयले विज्ञप्ति जारी गरेर आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने गरी व्यवस्थाका लागि बजेट माग गरेको र कोरोना महामारीका कारण बजेट अभाव भएर उपलब्ध हुन नसकेको कुरालाई उम्किने बहाना बनाएको छ ।

हालका अख्तियार प्रमुख प्रेम कुमार राई गृहसचिव हुँदा गृहमन्त्रालयले जारी गरेको निर्देशिकामा स्पष्ट रुपमा सरकारी एवं सार्वजनिक निकायमा जडित सीसीटीभीको ३ महिने अभिलेख राख्नु अनिवार्य भनिएको छ । त्यसको उल्लंघन गरेर पनि विमानस्थल कार्यालय उम्किने बहाना खोजिरहेको छ । १४ किलो सुन बरामद भएपछि गठित छानविन समितिले हालै बुझाएको प्रतिवेदनले पछिल्लो २१ दिनको मात्रै रेकर्ड उपलब्ध गराएको तथ्य सार्वजनिक गरेपछि विमानस्थल कार्यालयले उम्किने बहाना खोजेको हो ।

समितिको प्रतिवेदनपछि तीन महिनाको सीसीटिभी फुटेजको रेकर्ड राख्ने प्रणाली विकास गरिएको जनाएको कार्यालयकै विज्ञप्तिमा ६१ दिनको मात्रै रेकर्ड राख्ने व्यवस्था मिलाइएको उल्लेख छ । ‘सबै सीसीटिभीको स्टोरेज २१ दिन मात्र भनेर प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको तीन महिना भएको थिएन,’ विज्ञप्तिमा भनिएको छ,’ विस्तार गर्ने क्रममा तात्कालीन अवस्थामा केहीको २१ दिन भएपनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमता भइसकेको छ । बाँकीको क्रमशः बढ्ने क्रममा छ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गएको मंसिर २१ गते १४ किलो सुन बरामदपछि तस्करीको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*