उद्योगीलाई विद्युत् प्राधिकरणको कडा जवाफ-‘टीओडीको प्रमाण सुरक्षित छ, बिल नतिरी सुखै छैन’

१० पुष २०८०, मंगलवार १६:०७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल टाइम अफ डे (टीओडी) मिटरका आधारमा जारी भएको भन्दै प्रमाण सुरक्षित रहेको जवाफ दिएको छ । उद्योगीहरुले टीओडी मिटरको रेकर्ड देखाउन चुनौती दिएपछि प्राधिकरणले प्रमाण सुरक्षित रहेको जवाफ दिएको हो ।

उद्योगी व्यवसायीले टीओडी मिटरको प्रमाण देखाए सबै बक्यौता तिर्न तयार रहेको बताएका थिए । सोमबार मात्रै नेपाल उद्योग परिसंघ (सीएनआई)ले पत्रकार सम्मेलन गरेर टीओडी मिटरको रेकर्ड देखाए सबै बक्यौता तिर्न तयार रहेको बताएको थियो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले टीओडी मिटर अनुसार नै उद्योगीहरुलाई बिल पठाएको र फर्जी भन्नेहरुका लागि प्रमाण सुरक्षित राखिएको बताए । उनका अनुसार टीओडी मिटरमा एउटा निश्चित समयसम्म डेटाको रेकर्ड रहन्छ । अधिकांश डेडिकेटेड र ट्रंक लाइनको सेवा लिएका उद्योगीहरुको बिजुली खपतको डेटा डाउनलोड गरेर सुरक्षित राखेका छौं, उनले भने, ‘सबैलाई प्रमाण देखाउँदै हिड्ने कुरा भएन । चाहिएको ठाउँमा देखाउँछौं ।’

टीओडी मिटर अनुसारको रेकर्ड नभएकाहरुको सबस्टेसनको रेकर्डका आधारमा बिलिङ गरिएको उनले बताए । ‘सबस्टेसनमा कति बिजुली खपत भएको छ भनेर हरेक घण्टाको रेकर्ड हुन्छ । त्यसै आधारमा बिलिङ गरिएको छ, सिलवालले भने, ‘५२ लाख ग्राहकको रेकर्ड राखेको प्राधिकरणले ६१ वटा ग्राहकलाई रेकर्डविना फर्जी बिल पठाउँछ होला ?’ त्यसो भएको भए प्राधिकरणका कर्मचारी सबै कारबाही भोग्न तयार रहेको समेत प्रतिक्रिया सिलवालले दिएका छन् ।
उनका अनुसार स्वतन्त्र व्यक्तिको संयोजकत्वमा ३ जना नेपालका सरकारका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, ऊर्जा मन्त्रालयका सहसचिव रहेको कमिटीले थप अध्ययन गरेको छ । अध्ययनलाई मन्त्रिपरिषद्ले समेतले स्वीकृत गरेको छ । त्यसै आधारमा प्राधिकरणले बिल जारी गरेको सिलवालले बताए ।

विद्युतको रेकर्ड गर्ने आधुनिक मिटर हो, टीओडी । यसले टाइमको आधारमा प्रत्येक दिनको फरक-फरक समयको विद्युत खपत रेकर्ड गर्ने गर्दछ । यो मिटरले विद्युतको खपतसँगै भोल्टेज, करेन्ट, लोड डिमाण्ड, पावर फ्याक्टर, फेज यांगल, मिति र समय लाइन काटिएको समय जस्ता डेटाहरु समेत संग्रह गरेर राख्छ । जसको रेकर्ड एउटा निश्चित समयमा डाउनलोड गरेर सुरक्षित राख्नुपर्छ ।

प्राधिकरणले त्यसरी रेकर्ड भएको विद्युतको महशुल तिर्न अटेर गर्ने ९ उद्योगको लाइन काटिदिएको छ । गएको शुक्रबार ४ वटा उद्योगको लाइन काटेको प्राधिकरणले आइतबार थप पाँच वटा उद्योगको लाइन काटिदिएको हो । यस्तै, प्राधिकरणले बक्यौता नबुझाउने बाँकी ५२ वटा उद्योगलाई समेत चेतावनी दिइसकेको छ । व्यवसायीहरु भने उच्चस्तरीय छानविन समिति बनाएर यसबारे थप अध्ययन गरेर अघि बढ्नु पर्ने माग राख्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*