अर्थतन्त्रका सूचक सकारात्मक भएका छन्, सेयर बजार र घरजग्गा कारोबारले पनि लय समातेको छः अर्थमन्त्री

१० पुष २०८०, मंगलवार १३:१४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भने, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ ।”

लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए । अर्थमन्त्रीले भने, “लगानी गर्नेहरुको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौं भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।” उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे ।

राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले बताए । उनले भने,“नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।” असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । “बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ”, अर्थमन्त्रीले भने ।रासस

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*