१४ मध्ये तीन जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

१० पुष २०८०, मंगलवार १२:०१

काठमाडौं । नेपालमा संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये तीन वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९/०८० को लागि तीन वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् । हालसम्ममा मेट लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र सिटिजन लाइफले आर्थिक वर्ष २०७९/०८० को लागि बोनसदर सार्वजनिक गरेका हुन् ।

तीन जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७९/०८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।

आर्थिक वर्ष २०७९।०८० को लागि नयाँ बोनशदर सार्वजनिक गरेका तीन वटा कम्पनीहरुमध्ये मेट लाइफ इन्स्योरेन्सले बीमितलाई सवैभन्दा बढी बोनश दिने भएको छ । कम्पनीले आफ्ना बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनश दिने भएको छ ।

त्यस्तै, दोस्रो स्थानमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले बीमितलाई बिभिन्न बीमा पोलिसीमा अधिकतम ७७ रुपैयाँसम्म बोनश वितरण गर्ने भएको छ । साथै, रिलायबल नेपाल लाइफले आफ्ना बीमितलाई अधिकतम ७५ रुपैयाँसम्म बोनश वितरण गर्ने भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफले आव २०७९।०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, बार्षिक अग्रिम भुक्तानीमा २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी बीमा पोलिसीमा बीमाङ्क रकम अग्रिम रुपमा फिर्ता भइसकेको हुँदा बोनस दर कम हुने गर्दछ ।

त्यस्तै, सिटिजन शुभारम्भ सावधिक प्लस बीमालेखमा अवधी अनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । सावधिक (रेगुलर) बीमालेखमा बीमा अवधी अनुसार न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण भएको छ ।

त्यस्तै, सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ६७ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी) मा बीमा अवधी अनुसार न्यूनतम ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७९।०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीका अनुसार रिलायबल सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, लघु सावधिक जीवन बीमालेखको सबै बीमा अवधिहरमा ३० रुपैयाँका दरले तथा रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी)का सबै बीमा अवधिहरुमा २५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा न्यूनतम २४ रुपैयाँदेखि अधिकतममा ४० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा न्यूनतम ६० रुपैयाँदेखि अधिकतममा ६५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीको सावधिक तथष आजिवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म बोनस बीमितले पाउने भएका छन् । कम्पनीले रिलायबल समुन्नती जीवन बीमाको सबै बीमा अवधिहरुमा २० रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै, कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्सले आव २०७९।०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ र २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्युनतम प्रति हजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनस पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ तथा २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनस निर्धारण गरेको हो ।

कम्पनीले शिक्षा संरक्षण जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म दिने भएको छ । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ त्यस्तै, २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनसदर कम्पनीले निर्धारण गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*