प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने

९ पुष २०८०, सोमबार १४:१३

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पुस १० गते अर्थात् मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने तय भएको उनको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको १ वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी दिने र आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो १ वर्षे कार्यकाल सोचे अनुरुप उपलब्धिमूलक नभएको र अर्को वर्ष नयाँ ढंगले काम गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले अब १ वर्ष आफू सुशासन कायम गर्ने लगायतका काममा बढी केन्द्रित भएकाले काम नदेखिएको तर्क गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालीन अवस्थामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । पछि राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले नै गठबन्धन फेरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*