बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको म्यादी बीमाबाट व्यवसाय धान्दै, अन्य पोलिसीको अवस्था कस्तो?

९ पुष २०८०, सोमबार १४:३२

काठमाडौं । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमालेखहरुबाट जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय धानिरहेका छन् । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा सबैभन्दा बढी म्यादि बीमा पोलिसी बिक्री गरेका छन् । देशको विकराल आर्थिक अवस्था र आम जनताहरुमा विदेश जाने क्रम बढेसँगै उक्त बीमा पोलिसी सर्वाधिक बढी बिक्री भईरहेको हो ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा एक करोड बढी बीमा लेख बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको कात्तिक महिनासम्मको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख १९ हजार ७२५ वटा बीमा पोलिसी बिक्री बिक्री गरेका छन् । कम्पनीहरुले सावधिक, अग्रिम भुक्तानी साबधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धि, बैदेशिक रोजगार म्यादि, आजीवन, म्यादी जीवन बीमा लगायतका पोलिसीहरु बिक्री गरेका हुन् ।

विवरण अनुसार जीवन बीमा कम्पनीहरुले म्यादि जीवन बीमा पोलिसी सर्वाधिक बिक्री गरेका छन् । कम्पनीहरुले यस अवधिसम्म ३९ लाख ९२ हजार ८१३ वटा बीमा पोलिसी बिक्री गरेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम पोलिसी कायम रहेका छन् ।

त्यस्तै, लघु जीवन बीमा पोलिसी दोस्रो स्थानमा रहेको छ । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा ३६ लाख ५० हजार ८०६ वटा बीमा पोलिसी बिक्री गरेको छ । न्युन आय भएका सर्वसाधारणले पनि यो बीमा पोलिसी खरिद गर्न सक्छन् । यो बीमा पोलिसी पनि बागमती प्रदेशमा सर्वाधिक कायम रहेको छ । यसका साथै, विभिन्न प्रदेशमा २१ लाख १२ हजार ३४८ वटा सावधिक जीवन बीमा पोलिसी कायम रहेका छन् । यो बीमा पोलिसी पनि बागमती प्रदेशमा सबैभन्दा बढी कायम रहेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ४ लाख ५८ हजार, रुपान्तरित सावधिकमा पाँच लाख ३० हजार, बालबच्चा सम्बन्धि सावधिकमा ९ लाख ७७ हजार वटा र एकल बीमा शुल्क जीवन बीमा पोलिसीमा ३५ हजार २४० वटा बीमा पोलिसी कायम रहेका छन् ।

देशको संघिय राजधानी र व्यापारिक केन्द्र, शैक्षिक संस्था तथा स्वास्थ्य क्षेत्रको अवस्था लगायतका विभिन्न कारणले बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको छ । फलस्वरुप यस प्रदेशमा जीवन बीमा कम्पनीहरुले बिक्री गरेका सम्पूर्ण जीवन बीमालेख सबैभन्दा बढी कायम रहेको देखिन्छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*