भारतीय नक्कली नोटका कारोबारी युनुस अन्सारी सुन तस्करीमा, व्यापारीहरुको सेटिङमा हुँदैछ अर्बौको खेल
काठमाडौं । भारतीय जाली नोटको तस्करीको अभियोगमा कारावास काटिरहेका युनुस अन्सारी फेरि सुन सस्करीमा संलग्न भएको रहस्य खुलेको छ । भारतीय नक्कली नोटको तस्करी कसुरमा ललितपुरको नख्खु कारागारमा रहेका अन्सारी जेलभित्रैबाट सुन तस्करीमा संलग्न रहेको सूचना बीमापोष्टलाई प्राप्त भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत मंसिर २१ गते राति १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घले पक्राउ परेकै बखत अन्सारीको गिरोहले समेत सुन ल्याएको र त्यसको व्यवस्थापनका लागि केही दिन काभ्रेको धुलिखेलस्थित एउटा रिसोर्टमा बसेको खुल्न आएको छ ।
काठमाडौंमा सुन पक्राउ परेलगत्तै अन्सारीको गिरोह काठमाडौं भ्यालीबाहिर पुगिसकेको जानकारी बीमापोष्टलाई प्राप्त भएको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार अन्सारीको गिरोहमा अहिले एक जना भारतीय नागरिक, एक जना बीरगन्जका व्यापारी र अन्य सहयोगीहरु रहेका छन् ।
उनीहरु सुन तस्करीसँगै हातहतियार ओसार्ने कार्यमा समेत संलग्न रहेको बताइएको छ । यसअघि २०७७ साउनमा प्रहरीले अन्सारीका सहयोगी इन्साद हुसेनले खटाएका सुन भरिया देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई पक्राउ गरेको थियो ।
हुसेनले प्रयोग गर्ने गरेको बा ६ च ५५१९ नम्बरको गाडी प्रहरीले नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो । हुसेनको गाडी पार्किङ गरेर नवलपरासी पुगेका देवानसिंहसमेतका तीन जनालाई पक्राउ गरी काठमाडौँ ल्याएपछि त्यो बेला सुन तस्करीमा अन्सारीको संलग्नता खुलेको थियो ।
विश्वस्त स्रोतका अनुसार अहिले पनि अन्सारीले कारागारभित्रैबाट सुन तस्करीको सेटिङ् मिलाइरहेका छन् । काठमाडौंमा उनले प्रयोग गर्ने गरेको गोदामको भाडा कोरोना महामारीपछि तिरेका छैनन् । उक्त गोदाममा शंकास्पद सुन तथा हातहतियार भएको हुन सक्ने बताइएको छ । सो कार्यमा आफूलाई नेपालको नम्वर १ भनेर चिनिने सिमेन्ट कम्पनीहरुका मालिक एवम् उद्योगी विष्णु न्यौपाने समेतले सघाइरहेको स्रोतको दाबी छ । यस सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा न्यौपाने सम्पर्कमा आएनन् ।
बीमापोष्टलाई प्राप्त सूचनामा अन्सारी हाल नख्खुस्थित जेलबाट समय समयमा सेटिङ मिलाएर बाहिर समेत हिड्ने गरेका छन् । आइतबार बीमापोष्टले गरेको सोधखोजको क्रममा अन्सारी नख्खुस्थित कारागारभित्रै रहेको जेलरले पुष्टि गरे ।
विश्वस्त स्रोतका अनुसार अन्सारी पछिल्लो समय नेपालका केही नाम चलेका व्यापारीहरुलाई साथ लिएर सुन तस्करी गरिरहेका छन् । यस कार्यमा केही मारवाडी समुदायका व्यक्तिहरु समेत संलग्न रहेको बताइएको छ ।
फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै तस्कर
त्रिभुवन विमानस्थलको डिपार्चरबाहेक अन्यत्रको सुरक्षा व्यवस्था अस्तव्यस्त छ । जुन एकपछि अर्को घटनाले पुष्टि हुँदै गएको छ । ६१ किलो सुन बरामद भएपछि गएको भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन तीन महिनादेखि गृह मै थन्किएको छ । विमानस्थलबाट सुन तस्करीका श्रृंखला जारी छन् ।
विमानस्थलको भद्रगोल व्यवस्थापन र सुरक्षा त्रुटिको फाइदा उठाएर अन्सारी जस्ता तस्करहरुले सुनसहित हातहतियार ओसारपसार गरिरहेको सुरक्षा मामिलाका एक जानकारले बताए । परराष्ट्र सचिव, मुख्य सचिव हुँदै सरकारको राष्ट्रिय सुरक्षा सल्लाहकार भएका वैरागी नेतृत्वको समितिले २८ भदौमा प्रधानमन्त्री प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।
प्रधानमन्त्री प्रचण्डले तत्कालै कार्यान्वयनमा लैजान भनेको प्रतिवेदन अहिलेसम्म अघि नबढाई थन्काइएको छ । प्रतिवेदन थन्किएको विषय प्रधानमन्त्रीलाई जानकारीसम्म दिइएको छैन । कार्यदलले वस्तुगत सुझावहरु दिएको प्रतिवेदनमा विमानस्थलको अराइभल अर्थात आगमन कक्षमा प्रहरीलाई निषेध गरिएको कुरा पनि जोदारसँग उठाइएको छ ।
भन्सारले प्रहरीलाई प्रवेश रोकेर निजी सुरक्षा कम्पनीका सेक्युरिटी गार्डमार्फत चेकजाँच गराउँछ । जसकारण भन्सारबाट पटक-पटक सुनलगायत अवैध सामान सोझै जाँचपास भइरहेका छन् । सुरक्षा कडाईका लागि अर्थमन्त्रालय तगारो बनिरहेको कारण देखाइए पनि गृहमन्त्रालय, नागरिक उड्डयन मन्त्रालय समेतले सुधारको चाहना राखेको देखिँदैन ।
विगतमा पनि विभिन्न अध्ययन समिति बनेका थिए । ९ फागुन ०७९ मा एक युवक तारबारबाट छिरेर हवाईजहाजसम्म पुगेको घटनामा पनि छानबिन समिति बनेको थियो । अध्यागमन विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद भट्टराई नेतृत्वको समितिले सुरक्षा व्यवस्थापन सुधारका साथै भौतिक संरचनामा पनि सुदृढ बनाउनुपर्ने भनी सुझावसहितको प्रतिवेदन दिएको थियो ।
भट्टराई हाल गृह मन्त्रालयको शान्ति सुरक्षा समन्वय महाशाखाका प्रमुख तथा गृह मन्त्रालयको प्रवक्ता छन् । तर, त्यो प्रतिवेदन अघि बढेको छैन । अध्यागमन विभाग प्रमुख हुँदा सुधारको प्रयास गरेका भट्टराई विभागीय मन्त्रालयमा पुग्दासम्म प्रतिवेदनको अत्तोपत्तो छैन । भट्टराईका सुझावपछि विमानस्थलको अध्यागमन प्रमुख बनाएर पठाइएका व्यक्तिलाई समेत अन्तै सरुवा गरिएको छ । प्रतिवेदन कार्यान्वयन हुन नदिन यो बीचमा निकै चलखेल भएको बताइएको छ ।