एयरपोर्ट सुन तस्करी प्रकरण : ठोस प्रमाण जुटाउन छानविन समिति असफल, सीसीटीभी नै गायब
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिले महत्वपूर्ण तथ्य छुटाएर अपुरो प्रतिवेदन दिएको छ । भित्रुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको छानविन समितिले विमानस्थलको अराइभल (आगमन)तर्फको सीसीटीभी फुटेज नै भेट्टाउन सकेन भने अन्यत जडान गरिएका सीसीटीभी समेत आउट अफ् सर्भीसमा रहेका कारण ठोस तथ्य फेला पार्न सकेन ।
छानविन समितिले आगमन तर्फ ३ महिनाको सीसीटीभी रेकर्ड माग गरेकामा पछिल्लो २१ दिनको मात्रै रेकर्ड फेला पारेको छ । जसका कारण २०८० मंसिर १३ गते कृष्ण कुमार श्रेष्ठले सुन लिई आउँदा रेहर्ड भएको भिडियोबाटै छानविनको अनुसन्धान अघि बढाएर सुन तस्करको सञ्जाल पहिचान गरेपनि बरामद हुनै नसकेको बारदातको कसुर स्थापित गराउनु परेको तथ्य समितिले स्वीकारेको छ ।
डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट प्राप्त हुन समय लाग्ने र अनुसन्धानको निष्कर्ष निकाल्ने समय सीमाका कारण अन्य संलग्नहरुको पहिचान हुन नसकेको पनि समितिले स्वीकारेको छ । कार्गोबाट परिचालन हुने ट्याक्टर तथा ट्रलीहरुको लागि हालै विकसित नयाँ रुटबाट आवागमन गराउँदा आयल निगमको कार्यालय नजिक रहेको पार्किङ इलाका हुँदै जाँदा अन्य सवारीसँग सम्पर्क नहुने गरी सुनिश्चित गर्नुपर्ने भनेर समितिले गलत व्याख्या गरेको छ ।
कमर्सियल कार्गोलाई विमानबाट झार्नासाथ सोझै पारवहन गोदाम लैजाने भन्दा पनि जहाजबाट ओरोलेपछि विमानस्थल मै स्क्यान अथवा डिटेक्ट गरेर मात्रै गोदाम लैजाने व्यवस्था गर्नुपर्ने र गोदाम पुग्दासम्म ति ट्याक्टर अथवा ट्रलीहरु पूरा समय सीसीटीभीको निगरानीमा रहने व्यवस्था गर्नु पर्ने भनिनु पर्नेमा समितिले यो तथ्य छुटाएको छ । भन्सारका पूराना स्क्यानर मेसिन र प्रहरीलगायत अन्य सुरक्षा संयन्त्रलाई प्रवेश निषेध गरिएकोबारे पनि समितिले समेटेको छैन ।