सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरणको भूमिका शंकास्पद, पास वितरण गरिएकाको डिटेल नै गायब
काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को भूमिका संकास्पद देखिएको छ । विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले प्राधिकरणको भूमिका संकास्पद देखाएको हो ।
प्रतिवेदनको ४ नम्बर तथ्यको शिरानमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा वितरण गरिएका पासहरुको मोबाइल नम्बरसहितको विवरण प्राप्त हुन नसकेको भनी उल्लेख गरिएको छ । यस्तै, प्रतिवेदनले अराइभल अर्थात् आगमनतिरको सीसीटीभीको व्याकअप समेत कम हुने गराइएको तथ्य उजागर गरेको छ । आगमनतर्फ पछिल्लो ३ महिनाको सीसीटीभी रेकर्ड मागिएकोमा व्याकपको सिमितता देखाउँदै पछिल्लो २१ दिनको मात्रै रेकर्ड प्राप्त भएको भनी छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
विमानस्थलमा विजुली, पानीदेखि सम्पूर्ण व्यवस्था तथा सिसीटीभी जडान समेत क्यानले नै गरेको हो । विमानस्थल भन्सार कार्यालय गौचरका अनुसार क्यान त्रिभुवन विमानस्थलको घरबेटी हो । कहाँ के छ, कहाँ के राख्ने वा नराख्ने सम्पूर्ण अधिकार क्यानलाई छ । त्यहाँ संलग्न ४२ वटा एजेन्सी मध्ये कसैले कुनै नयाँ उपकरण जडान गर्नुपरे क्यानसँग अनुमति लिनुपर्ने तथा समन्वय गर्नै पर्ने हुन्छ ।
यस्तै, भीआईपी कक्ष जाने जाने सिढीको सीसी क्यामेरा आउट अफ सर्भिस् देखिएको हुँदा त्यो मार्ग प्रयोग गर्दाको भिडियो क्लिप समेत प्राप्त हुन नसकेको कुरा समितिले औंल्याएको छ । गएको मंसिर २१ गते १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घले पक्राउ परेपछि भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको थियो ।