१० वर्षमै ४७ राष्ट्र घुमिसकेका बीमा अभिकर्ता, जो सरकारी जागिर त्यागेकोमा कहिल्यै पछुताएनन् (भिडियोसहित)
सरकारी जागिर छोडेर बीमा अभिकर्ता पेशा रोजेका धर्मराज भण्डारी नेपाली बीमा क्षेत्रको परिचित व्यक्तित्व हुन् । नेपालबाट एमडीआरटीमा रजिष्ट्रड हुनेमा थोरै बीमा अभिकर्ताभित्र पनि भण्डारी पर्छन् । बीमा अभिकर्ता कै धरातलमा उभिएर उनले १० वर्षको अवधिमा संसारका ४७ वटा राष्ट्रको भ्रमण गरेका छन् । त्यति मात्रै होइन एमडीआरटीको २० वटा कन्फ्रेन्समा सहभागिता जनाइसकेका छन् । निजामती सेवा त्यागेर बीमा अभिकर्ता पेशा रोज्ने एलआईसी नेपालका, बीमा अभिकर्ता धर्मराज भण्डारीसँग बीमा क्षेत्रको व्यवसायिकता, बीमा अभिकर्ताको कर्म एवं सफलता र बीमक तथा नियामकले गर्नुपर्ने पहललगायत सवालमा केन्द्रीत रहेर रिना खत्रीले गरेको कुराकानीः
बीमा क्षेत्रमा प्रवेश गरेको कति समय भयो ?
–२०७० सालबाट म यो पेशामा प्रवेश गरेको हुँ । एउटा साथीले बीमा गर-गर भन्नुभयो त्यसपछि म प्रिमियम तिर्न लाइनमा बस्दा कम्पनीका एकजनाले तपाई अभिकर्ता बन्नुहोस् यो पेशामा आउनुहोस भनेर यसका फाइदाहरु बताएपछि यो पेशामा आवद्ध भए ।
बीमा अभिकर्ता पेशा अगाडि तपाई कुन पेशामा हुनुहुन्यो ?
–म सिभिल सर्भिस अर्थात् निजामति पेशामा १४ वर्षदेखि आवद्ध थिए । त्यो पेशालाई छाडेर बीमा अभिकर्ता पेशामा आवद्ध भएको हुँ ।
निजामति सेवा छाडेर बीमा पेशामा आउँदा डर लागेन ! रिस्क उठाउँदैछु भनेर ?
–मेहिनत गर्ने मान्छेलाई रिस्क भन्ने कुरै हुँदैन । म त त्यस्तो रिस्क देख्दिन । ३२ हजारले लोकसेवा परीक्षा दिदा १२ सयमा नाम निकाल्न सफल भएको मान्छे हुँ । त्यस्तो रिस्क भन्ने कुरा नै महसुस गरिँन ।
कहिलेकाँही सरकारी जागिर छाडेकोमा पछुतो लाग्दैन ?
–मेरो पछाडि फर्केर हेर्ने बानी छैन । सरकारी जागिर छाडेर बीमा पेशामा आवद्ध भएकोमा कुनै पश्चाताप छैन । सरकारी जागिर भनेजस्तो पनि हुँदैन । कहिलेकाँही आफूलाई कतै जान मन हुन्छ, बिदा पाइदैन । त्यस्तो हुँदा कसरी म्यानेज गर्ने भन्दा साथीहरुले बीमामा ठीक छ भनेर यस पेशामा आएको हुँ । धन्न सरकारी जागिर छोडेछु भनेको जस्तो चाँही लाग्छ ।
तपाइको बुझाइमा अभिकर्ता पेशा के हो खास ?
–यो एउटा सामाजिक दायित्व पनि हो । समाजमा कसैलाई मर्दा पर्दा उसको आर्थिक अवस्था कमजोर हुँदा यसले सहयोग गर्ने हुँदा यो सामाजिक कार्य पनि हो । पहिले त बीमा भनेको कसैले बुझ्दैनन थिए । आजकल धेरैलाई थाहा छ । मलाई त पहिले भन्दा अहिले पो झनझन यो पेशा सजिलो हुँदै गएको अनुभव हुँदैछ ।
बीमा अभिकर्ता कर्म हो कि सेवा ?
–कर्म त जन्मजात नै दिएर पठाएका हुन्छन भगवानले । जस्तो कर्म गर्यो त्यस्तै फल मिल्छ । कर्मले सिकाउँदै जाने हो । नभए त १०० कौरबका अगाडि पाँच पाण्डवले कसरी युद्ध जित्थे ? म चाँही जस्तो कर्म गर्यो त्यस्तै फल मिल्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्ने मान्छे हुँ । तपाइँको प्रश्न आफैंमा उत्तर हो । बीमा अभिकर्ता कर्म र सेवा दुबै हो ।
बीमा क्षेत्रमा पछिल्लो समय विकृति बढ्दै गयो भन्ने सुनिन्छ, कारण के होला ?
–बीमामा मान्छेले पाँच वर्षमा डबल आउँछ, दश वर्षमा डबल आउँछ भनेर विकृति ल्याएकै हुन् । यसमा अहिले प्राधिकरणले पनि सक्दो लगाम लगाएको छ । पहिला त घरघरमै अभिकर्ताको लाइसेन्स बाँडिन्थ्यो । अहिले त्यस्तो छैन, तालिम लिएर परीक्षा पास गरेरै मात्रै लाइसेन्स पाइन्छ । गाउँ-गाउँमा बीमा अझै पुग्न बाँकी छ । शहरमुखि मात्रै भइरहेको छ । ठूलठूला बीमा गराउँदा प्रिमियम तिर्न नसकेर बीमा सरेन्डर बढिरहेको छ । यसमा चाँही बदमासी भएकै हो ।
प्राधिकरणले के गरिदिए बीमा अभिकर्तालाई सहज हुन्छ ?
–प्राधिकरणसँग हामीले पटक-पटक आन्दोलन गरेरै भएपनि हाम्रो सेवा सुविधा खोसेरै ल्याएका हौं । प्राधिकरणले हामीलाई आफैं दिएको हैन । अहिले पनि प्राधिकरणले हामीलाई सामेल नगरी नियमावली पास गर्न पठायो भन्ने कुरा छ । अभिकर्ता नभएको भए आज प्राधिकरण पनि त्यो ठाउँमा पुग्न सक्दैन थियो । प्राधिकरणले एजेण्टप्रति हेर्ने नजर नकारात्मक नै देखिन्छ । यसलाई सुधार्नु पर्छ । एजेण्टलाई दलालको नकारात्मक भाष्यमा राखेर हेर्ने गरिएको छ । यसलाई सच्याइनु पर्छ ।
प्राधिकरणले नियमावली बनाउँदा अभिकर्तालाई समावेश नगर्नुमा कस्तो लाग्छ ?
प्राधिकरणले नियमावली बनाउँदा अभिकर्तालाई पनि राख्छौं–राख्छौं भनेर, नराख्दा हेपेको जस्तो पनि लाग्छ । ९० प्रतिशत बीमा पोलिसी रिन्यू भएन भने अभिकर्ताले कमिसन नपाउने जस्ता कुराहरुमा हामीलाई सामेल नगरी नियमावली बनाइयो । अहिले त्यो विषयमा सोधपुछ गर्दा हामीलाई थाहा छैन भनेर पन्छिन खोज्नु हुन्छ । अर्थमन्त्रालय जाँदा गर्देका छौं भन्नुहुन्छ । त्यो छ छैन अब नियमावली आएपछि मात्रै थाहा हुन्छ । हाम्रो पनि छाता संगठन छ, मैले मात्रै भनेर पनि केही हुँदैन ।
अभिकर्तालाई दलाल भनेर सम्बोधन गर्दा कस्तो लाग्छ, त्यसले तपाइहरुलाई असर पर्छ ?
–अभिकर्ता पेशालाई सामाजिक रुपमा हेर्दा राम्रो काम हो । दलाल शब्दको गलत भाष्यले नकारात्मक प्रभाव पर्छ, नै । अरु देशमा फेरि यहि दलाल शब्दलाई इज्जतका साथ हेरिन्छ । शेयर दलाल भन्दा उनीहरु खुसी हुन्छन । तर, हामीकहाँ यो पेशामा आएकाहरुलाई दलाल भन्दा खानै नपाएर आएको जस्तो कामै नपाएको जस्तो सोच्ने गरिन्छ । प्राधिकरण र अरुको हेराइमा बीमा दलाल हो, काम छैन भने जस्तो भाष्य सिर्जना गरिएको छ ।
बीमा गर्न कहाँबाट सुरु गर्नुभयो, परिवारबाटै कि अन्यत्र ?
–बीमा मैले परिवारबाट सुरु गरेको हैन । अन्यबाटै सुरु गरेको हुँ । बीमा भनेको किन्न आउने हैन, बेच्न जाने हो । बीमा भनेको बेच्नै जाने चिज हो । त्यसरी बेच्न जाँदा हामी बाटो मै बीमा बेच्दिन्छौं । मैले चिनेको भन्दा नचिनेको मान्छेको धेरै बीमा गराएको छुुँ ।
पहिलो बीमा गराएको सम्झना छ ?
–हो, मलाई याद छ । र, मैले गराएको बीमामा आजसम्म एउटा पनि क्लेमको प्रस्ताव आएको छैन । १० वर्ष बीमा गराउदा १५ सय पोलिसी बेचे होला क्लेम ० छ । यस्तो मान्छे सायद मै होला । जो मान्छे योग्य छ किन्न लायक छ, त्यस्ताको बीमा गराउँछु म । मैले बीमा गराएको बीमितको आजसम्म कुनै केही क्षति भएको छैन । र, नहोस् पनि । मैले बीमा गराउँदा अयोग्यलाई सीधै भन्दिन्छु तपाइले यसरी बीमा गराएर क्लेम पाउनुहुन्न, बीमा क्लेम यस्तो अवस्थामा यसरी पाइन्छ भनेर सबै बुझाउँछु ।
कसरी बन्न सकिन्छ सफल अभिकर्ता ?
–हामीले आज बीमा गराउँछौ सुविधा पाइयो अब भोलिदेखि बीमितको वास्ता नगर्ने होइन । सफल अभिकर्ता बन्नलाई बीमितसँग अन्तिम समयसम्म सम्पर्कमा रहनुपर्छ । मैले कुनै काम नभएपनि आफ्ना बीमितहरुसँग समय समयमा सम्पर्क गरिरहेको हुन्छु । अभिकर्ताले अन्तिम समयसम्म बीमितको सम्पर्कमा बस्नुपर्छ । कतिपय बीमितले म काम गर्ने कम्पनी कहाँ छ देखेका सम्म हुदैनन, तर पैसा पठाइरहेका हुन्छन्, मप्रतिको विश्वासका कारणले । त्यो विश्वासलाई कायम राख्न सक्नुपर्दछ ।
बजारमा बीमाप्रतिको धारण के छ ?
–कतिपयलाई पाँच वर्षमा बीमा डबल हुन्छ भनिदिएको हुन्छ, पाँच वर्षपछि २०-३० प्रतिशत मात्रै पाउँदा बीमितको यसप्रति नकारात्मक धारणा बन्नपुग्छ । यस्तो अवस्थामा कतिपयले अभिकर्ता र बीमा ठग हो भन्ने पनि गर्दछन् । त्यो अभिकर्ताकै गल्तीले भएको हो । बीमा गराउँदा त्यसरी झुक्याएर बीमा नगराउने हो भने यसप्रति धारणा सकारात्मक नै भेटिन्छ ।
एमडीआरटी भनेको के हो ?
एउटा मिलियन डलर राउण्ड टेबल भन्ने हुन्छ, हेड क्वाटरचाहि सिकागोमा छ । त्यो कस्तो हुन्छ भने अहिले चाँहि ४१ लाख ७१ हजार ५०० सम्म प्रिमियम बनाउन सक्यो भने जनवरीमा रजिष्ट्रेशन खुल्दा ६०० डलर रजिष्ट्रेशन फि लाग्छ । त्यसपछि एउटा सर्टिफिकेट पाइन्छ । र, त्यसको लोगो प्रयोग गर्ने अधिकार हुन्छ । हामीलाई त्यो लोगो अमेरिका बाट आएको हो । एमडीआरटी भनेको इन्स्योरेन्समा अति प्रतिष्ठित पेशा हो । मैले अहिलेसम्म एमडीआरटीको २० वटाजति कन्फ्रेन्समा सहभागिता जनाइसकेको छुँ । एमडीआरटी चाहिँ हुनैपर्छ । लगातार १० पटक एमडीआरटी भएमा लाइफ मेम्बर भइन्छ । यो गर्नैपर्छ पनि, नेपालमा हालसम्म यस्तो ३ जना मात्र छौं ।
कम्पनीले एमडीआरटी हुनलाई दिने टार्गेट फरक-फरक हुन्छ ?
–त्यस्तो फरक–फरक हुन्छ जस्तो मलाई लाग्दैन । त्यसको त यति टार्गेट पुरा गरे मात्रै एमडीआरटी हुने नत्र नहुने भनेर सीमा तोकिएकै हुन्छ । तर, कम्पनीको र हाम्रो क्लोजिङ टाइम फरक–फरक हुन्छ । एमडीआरटीको माहोलमा एलआईसी जत्तिको अरु छैन । एमडीआरटीमा गएपछि आत्मविश्वास एकदमै बढ्छ । काम गर्ने क्षमता पनि बढ्छ, यसले धेरै सकारात्मक प्रभाव पार्छ ।
बीमा क्षेत्रमा काम गरेकोमा कतिको गौरव महसुस हुन्छ ?
–यस पेशामा आवद्ध भएकोमा धेरै गर्व लाग्छ । बीमा पेशामा आवद्ध नभएको भए त आज न कसैले चिन्थ्यो न कसैले एसरी अन्तर्वाता नै लिन आउथ्यो । समाजमा इज्जत प्रतिष्ठा पनि कमाइएको छ । आज बीमामा काम गरेकै कारण १४ वटै जीवन बीमा कम्पनीका मानिसहरुले मलाई चिन्छन् । म त आफ्नो कम्पनीको मात्र नभएर अरु कम्पनीका मान्छेलाई पनि भन्छु एमडीआरटी गर्नुस् रजिष्ट्रर हुनुहोस, ज्ञान बड्छ बीमा गराउने तरिकामा सुधार आउँछ । अहिले हामीलाई मोटिभेटको जरुरत छैन हामी आफै अरुलाई मोटिभेट गर्न सक्छौं, एमडीआरटीका कारण । १० वर्षमा बीमा कै सिलसिलामा आजसम्म मैले ४७ वटा देश घुमिसकेको छु । यो बीमा कै देन हो ।
नयाँ आउने अभिकर्ताहरुका लागि सफलताको सुत्र छ ?
–नयाँ आउनेहरु हामीभन्दा धेरै पढेलेखेका हुन्छन् होला, उहाँहरुले अलिकति मेहिनत गर्नुभयो भने हामीलाई जित्नुहुन्छ, हामीले १० वर्षमा गर्ने काम नयाँ उर्जशील अभिकर्ताले २–४ वर्षमै गर्नुहुन्छ जस्तो लाग्छ । निरन्तरता चाँही दिनुपर्छ हार मान्नु हुँदैन । धैर्यता चाहिन्छ । तालिम लिनैपर्छ । तालिम लिन अल्छि गर्नु हुँदैन । हामीले त चाहेर पनि राम्रो तालिम लिन पाएनौं । एउटा दुईटा भएपनि नयाँ कुरा सिक्न पाइन्छ, त्यसैले तालिम छुटाउनु हुँदेन ।
बीमा अभिकर्ता क्षेत्रमा गर्ने काम थप सहज पार्न कम्पनी वा प्राधिकरणले के गर्नुपर्ला ?
–बीमा प्राधिकरणले पहिले त हामीलाई हेर्ने दृष्टिकोण बदल्नु पर्छ, नै । हामीले पोलिसी बेचेर यत्रो आर्जन गरेको छौं, प्राधिकरण पनि त्यसैको ढाडले उभिएको छ । यसले अर्थतन्त्रमा ठूलो योगदान गरेको छ । यो कुरालाई नजरअन्दाज गरिदिनु भएन । कम्पनीले पनि अभिकर्ताको फण्डले नै कम्पनी चलेको छ भनेर हामीप्रति सकारात्मक धारणा राख्नुपर्ने हुन्छ । अरु कुरा त हामी आफैंले प्राप्त गर्न सक्छौं । स-साना कम्पनीहरुले चाँही अभिकर्तालाई राम्रै व्यवहार गर्नुहुन्छ । कति ठूला कम्पनीहरुले अभिकर्ता अब चाहिँदैन जस्तो गर्नुहुन्छ । यसलाई सुधार्नु पर्छ । प्राधिकरणले पनि अभिकर्तालाई समय सापेक्ष अनुसार सेवासुविधा उपलब्ध गराइदिनुपर्छ । १० वर्ष अगाडि जुन सुविधा थियो, अहिले पनि त्यहि सुविधा दिएर हुँदैन, समयसँगै महँगी बढेको छ, त्यसअनुसार हामीलाई पनि सेवा सुविधा दिनुपर्छ ।