हरेक नेपालीको भागमा ८१ हजार ३०६ रुपैयाँ ऋण

५ पुष २०८०, बिहीबार १८:२१

काठमाडौं । नेपालको सार्वजनिक ऋण घट्नुको सट्टामा बढ्न थालेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यस्तो जनाएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

यसअघि कात्तिक महिनामा सरकारले तिर्नुपर्ने ऋण २३ खर्ब ५७ अर्ब ६ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।मंसिर मसान्तसम्म तिर्न बाँकी कुल ऋणमध्ये ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा सरकारले कुल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ थप ऋण लिएता पनि ५९ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ सावाँ भुक्तानी गर्न सफल भएको छ ।

गत असार मसान्तसम्म सरकारकोे तिर्न बाँकी कुल ऋण २२ अर्ब ९९ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

यद्दपि, सावाँ भुक्तानी भन्दा बढी नयाँ ऋण थपिएपछि समग्र ऋण २३ खर्ब ७१ अर्ब नाघेको हो । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब रुपैयाँ हाराहारीमा रहेको छ । यसआधारमा हेर्ने हो भने नेपालको ऋण जीडीपीको ४४.७४% हुन आउँछ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को आधारमा हेर्ने हो भने एक नेपालीको भागमा ८१ हजार ३०६ रुपैयाँ ऋण पर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*