सिंहदरबारभित्रै श्रमजीवि पत्रकार संघले गर्यो प्रदर्शन, सञ्चार मन्त्रालयको आकाशमा उडाइयो बेलुनसहितको कालो व्यानर
काठमाडौं । श्रमजीवी पत्रकार संघले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल लागु गर्न माग गर्दै विभागीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आकाशमा बेलुनसहितको कालो व्यानर उडाएर प्रदर्शन गरेको छ ।
संघका अध्यक्ष जन्मदेव जैसीको अगुवाईमा बेलुनसहितको कालो व्यानर उडाएर देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार मै प्रदर्शन गरिएको हो ।
श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल लागु गर्नुपर्ने भन्दै ९ बुँदे माग राखेर संघले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । गएको मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई अल्टिमेटम पत्र बुझाए लगत्तै श्रमजीवी पत्रकार संघले २९ गते प्रेस विज्ञप्ति जारी गरेर पुस १ गते देखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
यसपछि सातैवटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकषण पत्र बुझाउने, कालो व्यानरसहित राजधानी काठमाडौंमा धर्ना बस्ने र पुस ८ गते प्लेकाडसहित प्रदर्शन गर्ने तयारी गरिएको संघका अध्यक्ष जैसीले बताएका छन् ।
विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवीहरु शोषित, पीडित हुँदै आएपनि राज्यले उचित सम्बोधनको पहल नगरेको भन्दै संघले स्थापनाको दिनदेखि निरन्तर खबरदारी गर्दै आएको छ ।
बिग मिडिया हाउस भनिएको कान्तिपुरमा समेत श्रमजीविहरु शोषित, पीडित एवं अपहेलित भएपछि संघ कै अगुवाईमा चरणवद्ध आन्दोलन भएका छन् । व्यवस्थापन पक्षले माग सम्बोधन गर्नुको सट्टा वेवास्ता गर्ने र राज्यले समेत ताकेता नगर्दा श्रमजीवीहरुको श्रमको मूल्य पाउने अधिकार हनन् भएको मुद्दामा रुमजीवि पत्रकार संघ पत्रकारहरुको छाता संस्था पत्रकार महासंघ भन्दा पहिले संघर्षमा उत्रिँदै आएको छ ।
संघका अध्यक्ष जैसीले जारी गरेको विज्ञप्तिमा, ‘हाम्रा जायज मुद्दाको सम्बोधन नभए पुष १ गते आइतवारदेखि हुने सडक आन्दोलनले बाध्य पार्ने विश्वास व्यक्त गर्दै सो आन्दोलनमा साथ समर्थन र सक्रिय सहभागिताका लागि पनि यसै पत्रमार्फत श्रमजीवी पत्रकार संघ आम समुदायमा हार्दिक अपिल गर्दछ’ भनिएको छ ।