थप आधा दर्जन ब्रोकर कम्पनी संचालनमा आउने अन्तिम तयारीमा
काठमाडौं । थप पाँच ब्रोकर कम्पनी आउने भएको छ । एक ब्रोकर कम्पनी ६० करोड चुक्ता पूँजी लिएर बजार प्रवेश गर्दै छ भने बाँकी सीमित कार्य गर्ने ब्रोकर आउने भएको नेप्सेको स्रोतले जनाएको छ ।हिमालयन बैंकको सहायक कम्पनी हिमालयन सेक्युरिटी ६० करोड चुक्ता पूँजी सहित बजारमा आउने छ।
उसले नेपाल स्टक एक्सचेन्जमा निवेदन दिइसकेको छ। जसको प्रक्रिया पनि अघि बढाइसकिएको नेप्सेले जनाएको छ।दोस्रोमा समिति कार्य गर्ने गरी राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी बजारमा प्रवेश गर्ने छ। कम्पनीले नेप्सेमा निवेदन दिइसकेको छ। जसको सदस्यताको लागि प्रक्रिया अघि बढेको नेप्सेले जनाएको छ।
म्यगनेट सेक्युरिटी एण्ड इन्भेस्टमेन्ट कम्पनी दोस्रो बजारमा आउन लागेको तेस्रो कम्पनी हो। सीमित कार्य गर्ने गरी सदस्यताको लागि उसले नेप्सेमा निवेदन दिएको छ।
प्रभु बैंकको सहायक कम्पनी प्रभु स्टक मार्केटले पनि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। तर उसले नेप्सेमा भने निवेदन दिइसकेको छैन।
तर यसले पनि चाँडै निवेदन दिने तयारी गरिरहेको बुझिएको छ। अन्तिममा सनराइज बैंकको सहायक कम्पनी सनराइज् सेक्युरिटिजले समेत धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। उसले पनि नेप्सेमा निवेदन भने दिइसकेको छैन।
पाँच कम्पनी मध्ये तीन कम्पनी भने तुरुन्तै बजारमा आउने छन् भने बाँकी रहेका दुई कम्पनी भने केही समय पछि बजारमा आउने बताइएको छ। यस अघि नेप्सेले ३४ नयाँ कम्पनीलाई कारोबार सदस्यता दिइसकेको छ। थप पाँच सहित ३९ कम्पनी नयाँ हुने छन्।
बोर्डले नयाँ लाइसेन्स खोल्दा ४६ कम्पनीले आवेदन दिएका थिए। जसमा एनआइसी एसिया ब्रोकर कम्पनीको दौडबाट बाहिरिएको थियो। बाँकी रहेका ४५ मध्ये ३९ कम्पनीले धितोपत्र बोर्डबाट लाइसेन्स पाइसकेका छन् भने ६ कम्पनीले अझै लाइसेन्स पाएका छैनन्। उनीहरू पनि लाइसेन्स पाउने क्रममा रहेको धितोपत्र बोर्डले जनाएको छ।