सात महिनापछि सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौ । सात महिनापछि नेप्सेमा सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएको छ । नेप्सेमा कम्पनीले पहिलो कारोबार ५९८ रुपैयाँमा भएको छ ।
नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेको सोमबारको निर्णयबाट प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा गरिएको हो ।
साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका हुन्। मर्जर प्रक्रिया पूरा गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ । एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको शेयर कारोबार रोक्का गरेको थियो। महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन ।
शेयर रोक्का हुनअघि प्रभु लाइफको शेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो। अब यही मूल्यबाट प्रभु महालक्ष्मी लाइफको शेयरमूल्यमा कारोबार खुल्नेछ ।