मंसिरसम्ममा साढे २४ अर्ब विदेशी लगानी प्रतिवद्धता, सबैभन्दा धेरै केमा ?

२ पुष २०८०, सोमबार १४:५२

काठमाडौं । यो आर्थिक वर्षको मंसिरसम्ममा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई अन्तर्गत साढे २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले दिएको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २२० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

मंसिरसम्ममा लगानीकर्ताले नयाँ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख ७८ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् भने सञ्चालनमा रहेको उद्योग अर्थात् सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)/एसएसए सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए)/टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)मा ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन् । यसबाट १० हजार १२० जनाले रोजगारी पाउने बताइन्छ ।

मंसिरमा मात्रै विदेशी लगानीमा २१ वटा नयाँ उद्योग दर्ता हुँदा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने एसपीए/एसएसएमार्फत् २ वटा उद्योगमा ३० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागमा हालसम्ममा वैदेशिक लगानीका ६ हजार ५८ वटा नयाँ उद्योग दर्ता भएका छन् । ति उद्योगमा विदेशी लगानीकर्ताले ४ खर्ब ७० अर्ब ५७ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साथै, ३ लाख १९ हजार २१७ जनालाई रोजगारी प्रतिबद्धता जनाइएको छ ।

मंसिरसम्ममा १९९ वटा नयाँ उद्योगमा लगानी प्रतिबद्धता जनाउँदा ३ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, मध्यम वर्गको ७ वटा र साना वर्गको १८९ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

मंसिरसम्मको तथ्याङ्क अनुसार विदेशी लगानीकर्ताको लगानीको आकर्षक क्षेत्र पर्यटन रहेको पाइएको छ । पाँच महिनाको अवधिमा लगानी प्रतिबद्धता जनाएकामध्ये करिब आधा हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ । विभागअनुसार यस अवधिमा ९५ वटा पर्यटन क्षेत्रमा अर्थात् ४८ प्रतिशत लगानी प्रतिबद्धता लगानीकर्ताले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*