आईजीपी कुँवरलाई १२ डीएसपीबाट ७ एसपी छान्न सकस, को-को छन् बढुवाका आकांक्षी ?
काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरलाई एसपी बढुवामा सकस परेको छ । उनले १२ प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट सात एसपी छान्नुपर्ने भएको छ । बढुवाको आकांक्षी सबै एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेकाहरु छन् । उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए ।
उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी तीन चरणमा बढुवा भएर एसपी बन्ने बताइन्छ । १२ डीएसपीमध्येबाट अहिले सातजना मात्र बढुवा हुनेछन् । पाँच जना अझै छुट्ने भएपछि बढुवामा अहिले आईजीपी कुँवरलाई सकस परेको हो ।
एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई हुन्छ भने एसएसपीदेखि माथिल्लो तहको बढुवा गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिले गर्ने गरेको छ । १२ जनामध्ये अहिले बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।
राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि एसपीको प्रतिस्पर्धामा छन् । प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा गर्ने तयारी गरेको बताइन्छ ।