नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी गुहार माग्दै सर्वोच्च
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायिक हिरासतमा रहेका पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता आङटावा शेर्पाले सर्वोच्च पुगेका छन् ।
उनले सर्वोच्चमा वेरितको निवेदन दिएका छन् । जिल्ला अदालत काठमाडौ र जिल्लाको आदेश सदर गर्ने उच्च अदालतको निर्णय त्रुटिपूर्ण भएको जिकिर शेर्पाले गरेका छन् । शेर्पाले दिएको निवेदनमा सोमबार आज पेशी समेत तोकिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा निवेदन पेशी छ ।
उच्च अदालतले यसै प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटी मागेपछि उनी शुक्रबार रिहा भएका छन् । सुरुमा दुई न्यायाधीशको राय बाझीएपछि एकल बेन्चले खाणलाई ३० लाख धरौटी माग गर्ने आदेश दिएको थियो ।
थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितले सर्वोच्चमा निवेदन दर्ता गराउने तयारी गरेका छन् । पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेका कानून व्यवसायीले यो साता नै वेरितको निवेदन दर्ता गराउने तयारी गरेका बताइएको छ ।