इन्टरनेट कम्पनीहरुको अटेरीले भारतबाटै व्यान्डविथ रोकिदै, टाटा र एयरटेलले दिए १५ दिनको अल्टिमेटम
काठमाडौं । व्यान्डविथको भुक्तानी नपाएपछि भारतीय कम्पनी टाटा र एयरटेलले व्यान्डविथ आयात रोक्ने चेतावनी दिएका छन् । सरकारले अर्बौ बक्यौता नतिरेको भन्दै इन्टरनेट कम्पनीहरुलाई विदेशी मुद्रा सटही सुविधा र आवश्यक सिफारिस तथा स्वीकृति रोकेपछि यो अवस्था आइलागेको हो ।
विदेशी मुद्रा सटही सुविधा र आवश्यक सिफारिस तथा स्वीकृति रोकेपछि नेपालका इन्टरनेट कम्पनीले भारतीय कम्पनीलाई व्यान्डवीथको भुक्तानी दिन पाएका छैनन् । भुक्तानी नदिएको भन्दै भारतीय नेटवर्क प्रोभाइडर कम्पनीले १५ दिनभित्र व्यान्डविथको भुक्तानी गर्न नेपालका इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाएको छ ।
नेपाल इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का अधिकारीहरुले भारतीय कम्पनी टाटा र एयरटेलले १५ दिनको समय दिएको बताएका छन् । डिसेम्बर ३१ सम्म भुक्तानी नपाए व्याडविथ रोक्ने चेतावनी उनीहरुले दिएका छन् । नेपालका ठूला भनिएका इन्टरनेट सेवाप्रदायकले सरकारलाई दुई अर्ब बढी रकम बक्यौताको नाममा बुझाउन बाँकी छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक बक्यौता तिर्न ताकेता गरे पनि इन्टरनेट कम्पनीहरुले अटेर गरिरहेका छन् । बक्यौता नतिरेका कारण सरकारले सहजिकरणमा रोक लगाएको छ । यसअघि पनि त्यसरी व्यान्डविथ रोकिँदा बक्यौता तिर्ने शर्तमा सरकारले सहजिकरण तथा स्वीकृति हटाएको थियो । यो विवाद फेरि निस्किएको छ । अरर्बौँ कमाएर सरकारलाई रोयल्टी नतिर्ने कम्पनीहरुलाई खारेजीसम्मको चेतावनी समेत सरकारले दिइसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले संसदको अर्थ समितिलाई दिएको विवरण अनुसार वर्ल्डलिंकले १ अर्ब २५ करोड ३४ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । सुविसु केवलनेट प्रालिले २६ करोड ९७ लाख, भायानेट कम्युनिकेसनले २६ करोड ७६ लाख, क्लासिकटेकले २३ करोड ७१ लाख तिर्न बाँकी छ ।
मर्कन्टाइलले ९ करोड १६ लाख, वेवसर्फरले ७ करोड ३३ लाख, पोखरा इन्टरनेटले ३ करोड ३३ लाख, नेट म्याक्सले १ करोड ९ लाख, टेकमाइण्डसले २३ लाख ६४ हजार बक्यौता तिर्न बाँकी छ ।