विशेष अदालतमा इच्छाराज र परिवारका सदस्यविरुद्धको मुद्दा अघि बढ्यो
काठमाडौं । विशेष अदालतमा सहकारी ठगी र बैंकिङ कसुरको मुद्दामा थुनामा रहेका पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङविरुद्धको सुनुवाई अघि बढेको छ । विशेष अदालतले आइतबार यो मुद्दामा पेशी तोकेर सुनुवाइअघि बढाएको हो ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा पेशी परेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दर्ता गरेको थियो ।
विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती विना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दर्ता गरेको हो । विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको जिकिर गरिएको छ । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ ।
तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख ,सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैर कानूनी देखिएको अभियोगपत्रमा उल्लेख छ । कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ ।
विभागले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको बचत रकम आफ्नो र परिवारको नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएको समेत ठहर गरेको छ । आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी स्थापना गर्ने र तिनै कम्पनीमार्फत् कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो र परिवारको बनाउन अनेक प्रपञ्च रचिएको बताइन्छ ।
तामाङले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफुखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका थिए ।