हतियार उठाउँछु भन्दै हिँडेका विप्लव यस्तो अवस्थामा देखिए जंगलमा
काठमाडौं । अदालतले पक्राउ पूर्जी जारी गरेका नेत्र विक्रम चन्द ‘विप्लव’ जंगलमा फरक अवस्थामा देखिएका छन् । राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनलाई ३५ दिनभित्र उपस्थित हुन भनी गएको मंसिर १८ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
यो पक्राउपूर्जीविरुद्ध संघर्षका कार्यक्रम छेडेर फेरि हतियार उठाउन बाध्य हुने चेतावनी दिएका विप्लव जंगलमा डोको बुन्ने निगालोको भारी बोकिरहेको अवस्थामा देखिएका हुन् । १९ मंसिरको साँझ विप्लवले विज्ञप्ति जारी गरेर, ‘काठमाडौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी, प्रवक्ता कमरेड प्रकाण्ड सी, पीवीएम कमरेड माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो’ भनेका थिए ।
उनले विज्ञप्तिमार्फत, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ’ समेत भनेका छन् ।
राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नुपर्ने अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको विप्लवले उल्लेख गरेका छन् ।
गत वर्ष फागुनमा नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको भनी तीन बुँदे सहमतिपत्र जारी भएकोमा सरकार त्यसविरुद्ध गएको विप्लवको आरोप छ ।