सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउने काठमाडौं महानगरको निर्णय रोक्न उच्चको अन्तरिम आदेश
२९ मंसिर २०८०, शुक्रबार १६:३८
काठमाडौं । सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्णप्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । टोवागो उद्योग प्रालिको निवेदनमा उच्च अदालतले यस्तो आदेश दिएको हो ।
काठमाडौं महानगरले महानगर क्षेत्रभित्र कच्चा सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको थियो । निर्णयपछि महानगर प्रहरीले थुप्रै ठाउँबाट सूर्ती, खैनी र चुरोट गुट्खालगायतका सामग्री जफत गरेको थियो ।