कसैको स्वार्थका लागि नयाँ स्टक एक्स्चेन्ज दिइए चुप लागेर बसिन्न : गगन थापा
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिइए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । पत्रकारसँगको कुराकानीमा महामन्त्री एवं सांसद थापाले वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेकाले निहित स्वार्थका लागि त्यस्तो गरिए चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
संसदीय समितिको निर्देशनका आडमा दबाब वा प्रभावमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन नहुने थापाले बताए । कुनै एक समूहको स्वार्थ र फाइदाको लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्नु पर्नेमा उनले जोड दिए । कुनै अध्ययन वा आधार बिना मुठ्ठीभर व्यक्तिहरुको फाइदाका लागि नयाँ स्टक एक्स्चेन्ज दिँदा कुशासनको अर्को चक्र सुरू हुने जिकिर उनले गरेका छन् ।
पुँजीबजारको अवस्थाबारे अध्ययन गरेर कसरी र किन दिने भनेर निधो गरेपछि मात्रै दिनुपर्छ भन्ने नेपाल सरकारको निष्कर्ष हो, उनले अगाडि भने, ‘त्यसैको आधारमा धितोपत्र बोर्डलाई भन्यो । संसद्को समितिले पनि ठिक हो भनेर नदिनू भन्यो । त्यसको केही समयपछि संसद्को त्यही समितिले दिनू भनेर निर्देशन दिएको देखिन्छ । यो कुरालाई आड लगाएर केही कुरा सुनिरहेका छौं । धितोपत्र बोर्डको नेतृत्व बिदा हुन केही दिन बाँकी छ । यस्तो बेलामा बिदा बस्ने चलन हुन्छ । तर अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिँदै छ । त्यो दबाबको आधारमा नयाँ लाइसेन्स त्यो पनि केही समूहलाई पोस्ने र फाइदा हुने गरी दिने तयारी भएको सुनेका छौं । यो कुरा प्रधानमन्त्री र मन्त्रीलाई भेटमा भनेका छौं । सार्वजनिक रुपमा पनि भन्न चाहन्छु । कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ, सिंगो देश तनावमय हुन्छ ।’