१४ किलो सुन काण्डमा विमानस्थलको सरसफाइ सुपरभाइजर परिन पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले सर्च अप्रेशन चलाउँदा समातिएको १४ किलो सुन काण्डमा सरसफाइ विभागकी सुपरभाइजर पक्राउ परेकी छन् ।
विमानस्थलको सरसफाइ विभागकी सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले बताए । सुपरभाइजर पाण्डेसहित कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।
मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । ज्याकेट बनाएर १४ किलो सुन ल्याएका उनले म्यानपावर व्यवसायी मीनबहादुर घलेको नाम लिएपछि त्यही दिन गोरखा बारपाकका दुबै घले समातिएका थिए ।
सुन भित्रिने सूचना पहिल्यै पाएका आधारमा विमानस्थल भन्सार कार्यालयले सर्च अप्रेशन चलाएको थियो । चन्द्र घले विमानबाट ओर्लिएर वाक थ्रुमा पुग्नेवित्तिकै सुनसहित समातिएका थिए ।
१४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले छानबिनका लागि समिति गठन गरिसकेको छ । प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना छानबिन समितिमा छन् ।