अर्थतन्त्र तंग्रिदै छ : मन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र तंग्रिदै गएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा अर्थमन्त्री डा. महतले अर्थतन्त्रका सबै सूचकहरुमा सुधार हुँदै गएको बताए ।
उनले भने, ‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ । पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं ।’
अर्थमन्त्री महतले विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जाने र श्रमिककको माग पनि बढ्दै जाने बताए । अब श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुने उनको जिकिर छ ।
उनले त्यसक्रममा श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्ने प्रयास हुनुपर्नेमा जोड दिए । महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने औद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको बताए ।
मन्त्री महतले यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्नेमा जोड दिए ।