पूर्व गृहमन्त्री खाणविरुद्धको सुनुवाई न्यायाधीश कोइरालाको इजलासमा, के सर्वोच्च पुग्ला सुनुवाई ?

२८ मंसिर २०८०, बिहीबार १२:४०

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनको फैसलामा उच्च अदालत पाटनका २ जना न्यायाधीशको मत बाझिएपछि खाणको मुद्दा एकल बेन्चमा पुगेको हो ।

उच्च अदालत पाटनका २ जना न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मंसिर १५ गते अन्य आरोपीको हकमा सर्वसम्मत रुपमा फैसला सुनाए पनि खाणलाई थुनामुक्त गर्ने वा पुर्पक्षका लागि थुनामै राख्ने भन्नेबारे मत बाझिएको थियो । पाण्डेले धरौटीमा रिहा गर्ने निर्णय गर्दा खरेलले उक्त निर्णयमाथि असहमति जनाएका थिए । दुई न्यायाधीशबीच राय बाझिए तेस्रो न्यायाधीशकोमा मुद्दा पेश गर्ने अदालती परम्परा छ ।

बिहीबार सुनुवाइ गर्ने न्यायाधीश कोइरालाले यसअघिका २ मध्ये जुन न्यायाधीशको रायलाई समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुने बताइन्छ । धरौटीमा रिहा गर्नेमा सर्मथन गरे खाण रिहा हुनेछन् भने थुनामै राख्नेमा सहमति जनाए थुनामै रहनेछन् । बिहीबार सुनुवाइ गर्ने न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा पुनरावलोकन निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहितको संलग्नता बाहिरिएको थियो । यो प्रकरणमा काठमाडौं जिल्ला अदालतले असार १ गते थुनछेक आदेश जारी गर्दै खाणसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको थियो । जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध खाणसहितका प्रतिवादीले उच्च अदालत पाटनमा पुनरावलोकन हालेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*