एनसेलले अझै बुझाएन दूरसञ्चार प्राधिकरणलाई शेयर किनबेचका कागजपत्र
काठमाडौ । कानूनी रूपमा पूर्वस्वीकृति नलिई शेयर स्वामित्व खरिद-बिक्री गरेको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई स्पष्टीकरण मागेकामा अहिलेसम्म कुनै काजगपत्र उपलब्ध गराउन सकेको छैन ।
एनसेलले स्वीकृतिका लागि यथाशीघ्र उपलब्ध गराउने भनेका कागजपत्र अहिलेसम्म नआएपछि प्राधिकरणले पुनः पत्राचार गर्नु परेको छ । दूरसञ्चार क्षेत्रको नियामक र प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई खबर नगरी मलेसियन आजियटाले मंसिर १५ मा बेलायतको स्पेक्ट्रलाइट यूकेलाई आफ्नो हिस्सामा रहेको ८० प्रतिशत सेयर बेचेको घोषणा गरेको थियो ।
विना जानकारी शेयर खरिद सम्झौता गरेको झन्डै दुई साता वितिसक्दा पनि एनसेलले यसअघि दूरसञ्चार प्राधिकरणलाई लेखेको पत्रमा उल्लेख भए बमोजिमका निकायलाई कुनै कागजात दिएको छैन । मंसिर १३ मा मलेसियाको आजियटा बर्दाह समूहले नेपालमा विदेशी लगानीका लागि राम्रो वातावरण नभएकाले बाहिरिने भन्दै एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर बिक्रीका लागि राखेको घोषणा गरेको थियो ।
शेयर बिक्रीका विषयमा नियामक दूरसञ्चार प्राधिकरणसँग पूर्वस्वीकृति लिनुपर्ने कानूनी व्यवस्थाबारे स्मरण गराउँदै प्राधिकरणले मंसिर १४ मा एनसेल आजियटालाई चिठी काटेको थियो । आजियटाले भने त्यसको भोलिपल्टै स्पेक्ट्रलाइटलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) सहित अन्य विभिन्न शर्तमा शेयर बेचेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।
शेयर खरिदकर्ता स्पेक्ट्रलाइटले एनसेलको ग्लोबल आइएमई, स्ट्यान्डर्ड चार्टर्ड र एनआईबीएलमा गरी २७ अर्ब ऋण सकार्दै सन् २०२९ सम्म लाभ बाँडफाँट गर्ने शर्तसहितको सम्झौताअनुरूप झन्डै १० अर्ब रुपैयाँ हाराहारी आजियटालाई लाभांश बुझाउने सहमति गरेको विज्ञप्तिमार्फत जनाइसकेको छ ।