बीमा प्राधिकरणको पहलमा ‘जाजरकोट भूकम्प’मा मृत्यु भएकाको परिवारलाई बीमा रकम वितरण
काठमाडौं । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पमा परेर मृत्यु भएका व्यक्तिको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण सुरु गरेको छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको पहल तथा समन्वयमा प्रदेश सरकारले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण सुरु गरेको हो ।
मंगलबार नलगाड नगरपालिकाका ५६ मध्ये ३० जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले बताए । बीमाको उक्त रकम कर्णाली प्रदेशका कानून मन्त्री जीसी र नेपाल बीमा प्राधिकरका कर्णाली प्रदेश प्रमुख पदमप्रसाद सोडारीले हस्तान्तरण गरेका हुन् ।
प्रतिमृतक दुई लाखका दरले रकम वितरण गरिएको प्राधिकरण कर्णाली प्रदेश प्रमुख सोडारीले जानकारी लिए । उनका अनुसार अब क्रमैसँग सबै पालिकाहरूमा गएर तीन चार दिनमै वितरण गरिसक्ने उनले बताए । कर्णालीमा बसोबास गर्ने नागरिकका लागि प्रदेश सरकारले यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रमअघि सारेको थियो । उक्त कार्यक्रम अन्तर्गत बीमा रकम वितरण गरिएको हो ।
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु भएको छ । सोडारीले भने, ‘मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले चाँडै रकम वितरण गर्न सुरु गरेका हौँ ।’ प्रदेश सरकारले सार्वजनिक संरचना निर्माणका कामहरू सुरु गर्ने निर्णय समेत गरेको छ ।