एनसेलको अर्बौ भ्रष्टाचार छानविन गर्ने विषयमा सत्तारुढ दलको सर्वसम्मत निर्णय

१९ मंसिर २०८०, मंगलवार २१:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री भएको अर्बौ कर छली हुने गरी भएको घोटालाको छानविन गर्न सर्वसम्मत निर्णय गराउन सफल भएका छन् । आज प्रधानमन्त्री प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठकले एनसेलमा हुन लागेको भ्रष्टाचारको जरैसम्म पुगेर छानविन गर्ने विषयमा सत्ता गठबन्धनभित्र सर्वसम्मत सहमति गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारी कर्मचारी, सञ्चार सचिवलगायतका उच्च पदस्थ व्यक्तिहरु, मन्त्रीहरुलाई साक्षी राखेर गरिएको छलफलमा सबै दलका शीर्ष नेताहरुले एनसेलको शेयर खरिद बिक्रीमा भ्रष्टाचार भएको हुनसक्ने भन्दै छाविन गर्न कुनै कसर बाँकी नराख्ने सहमति भएको हो ।

प्रधानमन्त्री दाहालले मंगलबार अपरान्ह सत्तारुढ गठबन्धन दलका नेताहरूलाई एनसेलको खरिद–बिक्रीको विषयमा छलफल गर्नका बैठक राखेका थिए । बैठकमा सहभागी माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद बिक्रीमा जुनसकै किसिमका भ्रष्टाचार देखिए पनि कारवाही गरिने निर्णय भएको बताए । नेता सापकोटाले भने, ‘एनसेलको विदेशमा भएको खरिदबिक्री जालसाझीपूर्ण देखिएकाले गहिराइमा पुगेर अध्ययन तथा छानबिन गर्नका लागि सहमति जुट्यो ।

एनसेल खरिदबिक्रीबारे छानबिन गर्नुपर्ने प्रधानमन्त्रीको कुरामा अन्य राजनीतिक दलका नेताहरूले सहमति जनाएर कारवाही प्रक्रिया अघि बढाउन म्याण्डेड दिएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘एनसेलको शेयर खरिदबिक्री बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सुक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्छ र यो विषयलाई देश र जनताको हितमा कानुन बमोजिम गर्नुपर्छ भन्ने निस्कर्ष भएको छ ।’

आजको सत्ता गठबन्धनको बैठकमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शरतसिंह भण्डारीको सहभागिता थियो । लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका नेता राजेन्द्र श्रेष्ठ, माओवादी उपाध्यक्षहरू अग्नी सापकोटा र पम्फा भुसाल, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र कांग्रेस प्रमुख सचेतक रमेश लेखक सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*