आजियटा शेयर बेचेर भागेपछि सर्वोच्चमा लाभकर विवादको सुनुवाई हुँदै

१९ मंसिर २०८०, मंगलवार १०:३१

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको मलेसियन साझेदार आजियटा कौडीको भाउमा आफ्नो हिस्साको शेयर बिक्री गरेर भागेको छ । तर, सोही आजियटाले टेलियासोनेराबाट शेयर किन्दाका बखत नेपाल सरकारलाई तिर्नु पर्ने पू्ँजीगत लाभकरको विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । त्यसको सुनुवाइ आज हुँदैछ ।

सर्वोच्चको पेशीभन्दा पाँच दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । एकातिर वित्तीय अवस्था खराब हुँदै गएको र अर्कोतिर सर्वोच्च न्यायालयमा विचाराधीन यो मुद्दाको भाँउतोबाट पन्छिन पनि आजियटाले कौडीको भाउमा शेयर बेचेर भागेको बताइँदै छ । अदालतमा विचाराधीन मुद्दा हुँदा हुँदै गुपचुपमा शेयर खरिदविक्री गरेर फेरि अर्को वित्तीय अपराध गरेको आजियटाका स्वयंका लागि पनि सर्वोच्च न्यायालयको फैसला अर्थपूर्ण रहेको बताइँदै छ । पूँजीगत लाभकरका रुपमा करिब ४७ अर्ब रुपैयाँ तिरेको आजियटा मुद्दाबाट अझै उम्किएको थिएन ।

आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरेको थियो । यसरी खरिदविक्री हुँदा कानूनबमोजिम सरकारलाई पूँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद अहिलेसम्म पनि पूर्ण रुपमा निरुपण हुन सकेको छैन ।

ठूला करदाताको कार्यालयले कम्पनीलाई थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेपछि आजियटाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता समेत गुहारेको थियो । तर, लगानी विवाद समाधानसम्वन्धी अन्तर्राष्ट्रिय केन्द्र (इक्सिड)बाट पनि कुनै पार लागेन । र सर्वोच्चको फैसला अगावै एजियटाले सस्तो मूल्यमा शेयर बिक्री गरेर भागेको हो ।

इक्सिडले एनसेलबाट नेपाल सरकारले उठाइसकेको पूँजीगत लाभकरलाई समर्थन गरे पनि थप ५७ अर्ब माग गरिएको विषयमा भने कुनै पनि फैसला गरेको छैन । अब यो विषय सर्वोच्चले नै निरुपण गर्नुपर्ने देखिएको छ ।
सर्वोच्चले यदि यसरी माग गरिएको रकम आजियटाले तिर्नुपर्ने फैसला सुनाएका खण्डमा फेरि जटिलता उत्पन्न हुने यस मामिलाका जानकारहरु बताउँछन् । आजियटाले आफ्नो हिस्साको शेयर हालै स्थापना भएको नेपाली लगानीको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई विक्री गरेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*