सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउने

१८ मंसिर २०८०, सोमबार ०८:३६

काठमाडौं । सिटिजन लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट यही मंसिर १५ गते स्वीकृत भए पश्चात सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७९।०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, बार्षिक अग्रिम भुक्तानीमा २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी बीमा पोलिसीमा बीमाङ्क रकम अग्रिम रुपमा फिर्ता भइसकेको हुँदा बोनस दर कम हुने गर्दछ ।

त्यस्तै, सिटिजन शुभारम्भ सावधिक प्लस बीमालेखमा अवधी अनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । सावधिक (रेगुलर) बीमालेखमा बीमा अवधी अनुसार न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण भएको छ ।

त्यस्तै, सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ६७ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी) मा बीमा अवधी अनुसार न्यूनतम ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले स्थापनाको छोटो अवधीमा नै पुराना कम्पनी सरह उत्कृष्ट बोनस निर्धारण गर्न सफल भएको छ । बीमाको दीगो विकास र बीमितमैत्री रणनीति तथा योजना अनि कुशल व्यवस्थापनको कारण सिटिजन लाइफले अधिकतम् बोनसदर घोषणा गर्न सफल भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*