एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाईमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले जारी गरेको एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाईमा आवेदन दिने आज (मंसिर १८ गते) अन्तिम दिन रहेको छ ।
यस क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्कासन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।
मंसिर ४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको उक्त फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था रहेको छ ।
७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।