अन्ततः रिडी पावर कम्पनीका सञ्चालक गुरुप्रसाद न्यौपाने फसे भ्रष्टाचारको मुद्दामा
काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने र कार्यकारी सञ्चालक कुवेरमणि नेपालविरुद्ध विशेष अदालतमा भ्रष्चाटारको मुद्दा दर्ता भएको छ । भ्रष्टाचार तथा अनियमितता सम्बन्धमा विशेष सुनुवाई गर्न गठित विशेष अदालतमा पहिलो पटक शेयर सम्बन्धी कसुरमा रिट दर्ता भएको हो । शंकास्पद शेयर कारोबार गरेको आरोपसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपाने र नेपालविरुद्ध रिट हालेको हो ।
विभागले समेत शेयर बजार सम्बन्धको कसुरमा पहिलो पटक रिट दर्ता गरेको हो । विभागले इन्साइडर ड्रेडिङका खेलाडी न्यौपानेले नेपालसँग मिलेमतो गरेर प्राप्त गरेको १ करोड १९ लाख १० हजार २ सय ५२ रुपैयाँ बराबरको बिगो, बिगोको दोब्बर जरिवाना, र कसुर अनुसारको कैद सजायको माग गरेको छ ।
न्यौपानेले निःसर्गसमेत गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा तोकिएको निषेधित कार्य गरेको तथ्य प्रमाणित भएकाले उनलाई ऐनको दफा ३० को उपदफा एक बमोजिम बिगोको दोब्बर जरिमानासहित कैद सजायको माग गरिएको विभागले जनाएको छ ।
आफू अध्यक्ष रहेकै समयमा रिडी पावर कम्पनीको शेयर कारोबार गरेको र त्यसमा सहजीकरणको भूमिका निर्वाह गरेको आरोप सञ्चालक नेपाललाई लगाइएको छ । उक्त कारोबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन ०६४ विपरीत भएको भन्दै मुद्दा दर्ता गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘तत्कालीन अध्यक्ष न्यौपानेले कम्पनीको शेयर पदमा बहाल रहँदाकै बखत ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद बिक्री गरेको सम्बन्धमा तहकिकात गर्दा निजले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको भन्ने समेतको ब्यहोरा उल्लेख भएको देखिन्छ,’ विभागको जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मुद्दा दर्ता भएसँगै न्यौपाने र नेपाल स्वतः निलम्बनमा परेका छन् । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २७ मा, ‘प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा राष्ट्र सेवक यो ऐन बमोजिम थुनामारहेमा थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकामा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ’ भनी उल्लेख छ ।