स्थानीयको मुख थुन्न शिवम सिमेन्टको जुक्ति-विद्यालयलाई टाटाको बस, विद्यार्थीलाई सस्तो झोला
काठमाडौं । वर्षात्को पानीले भिजेको क्लिंकर समेत मिसाएर बजारमा गुणस्तरहीन सिमेन्ट पठाउने शिवम् सिमेन्ट स्थानीयको विरोध मत्थर गर्न फकाउने जुक्तिमा लागेको छ ।
गएको बर्खामा मात्रै शिवमले ट्रकका ट्रक पानीले भिजेको क्लिंकर लिएर मिसाएको तथ्य बाहिर आएको थियो । त्यति मात्र नभई राम्ररी वातावरण प्रभाव मूल्याङ्कन नगराई स्थानीयको हित विपरीत उद्योग चलाइरहेको शिवमप्रति स्थानीयहरु सन्तुष्ट छैनन् ।
उद्योग संचालन गरेवापत स्थानीयहरुका लागि शिवमले गर्ने भनेका कुनै पनि प्रतिवद्धता पूरा नगरेको र उल्टै बाटो विगार्नेदेखि बस्तीलाई असर पर्ने किसिमका गतिविधि बढाउँदै लगेको गुनासो स्थानीयले गर्दै आएका छन् ।
उद्योग र खानी क्षेत्रका स्थानीयको विरोधलाई मत्थर पार्न शिवमले मकवानपुरमा रहेको लक्ष्मी आधारभुत विद्यालयलाई टाटाको बस दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वको रकम स्कुल वसमा खर्चिएको शिवमले चितवन मंगलपुरमा रहेको विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भने कम्पनीको होलोग्राम र नाम लेखिएको झोला वितरण गरेको छ ।
सन् २००९ मा हेटौंडामा स्थापना भएको शिवम सिमेन्टको उद्योगले आफ्नै क्लिंकर खानी रहेको बताए पनि अन्य कम्पनीहरुसँग म्याग्नेसियम अक्साइड धेरै भएको कमसल खाले क्लिंकर खरिद गर्ने गरेको बताइन्छ ।