१६९ नेपाली रुपैयाँको कम्पनीले किन्यो एक खर्ब ४३ अर्ब रुपैयाँको एनसेलको शेयर स्वामित्व
काठमाडौं । नेपालमा भ्रष्टाचार, अनियमता, कमिशन, सेटिङ भन्ने कुरा दिनहुँ हुने गर्दछन् । २०६१ सालमा करोडौं रुपैयाँको गोल्डेन शेयर घुस बापत दिएर स्थापना भएको एनसेलमा हिजो नयाँ काण्ड रचिएको छ । कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा रेनोल्डस होल्डिङको शत प्रतिशत शेयर मलेसियास्थित एक्जियटा कम्पनीले बिक्री गरेको छ ।
बेलायतमा सेप्टेम्वर २६ मा जम्मा एक पाउण्ड अर्थात १६९ नेपाली रुपैयाँमा काठमाडौंको बाफल स्थायी ठेगाना भएका सतिशलाल आचार्य स्पेक्ट्रलाईट युके नामक कम्पनी स्थापना गरे । दर्ता नं १५१६६६७३ को सो कम्पनी जम्मा एक डलर चुक्ता पुँजिमा स्थापना भएको थियो । सोही एक पाउण्डको कम्पनीले नेपालको एनसेलको ८० प्रतिशत शेयर रहेको रेनोल्डस होल्डिङको सम्पूर्ण शेयर किनेको हो । सो शेयर सात वर्ष पहिले टेलियासोनेराबाट एक्जियटाले एक खर्ब ४३ अर्ब नेपाली रुपैयाँमा किनेको थियो । सात वर्ष पहिले एक खर्ब ४३ अर्बमा किनेको शेयर नेपालका विवादित व्यापारी सतिशला आचार्यले एक पाउण्ड अर्थात १६९ नेपाली रुपैयाँमा स्थापना भएको कम्पनीले किनेको हो ।
यसअघि एक खर्ब ४३ अर्बमा खरिद बिक्री हुँदा ६२ अर्ब कर छली काण्डमा परेको एनसेलको शेयर खरिद बिक्रीमा कर छली गर्ने उद्देश्यले पाँच करोड अमेरिकी डलरमा खरिद बिक्री सम्झौता गरिएको प्रष्ट देखिन्छ । एक खर्ब ४३ अर्बको शेयर एक्जियटाले जम्मा छ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गर्दा एक खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ घाटा व्यहार्ने छ । अन्तर्राष्ट्रिय व्यापारमा एक अर्ब डलर भन्दा बढि घाटा व्यहोर्ने भन्ने सामान्य र पत्याउने कुरा होइन ।
२०६१ सालमा स्थापना भएको मेरो मोबाईल हालको एनसेलले नेपालमा खर्बौ रुपैयाँ घोटाला गर्ने दुर सञ्चार सेवा प्रदायक कम्पनी हो । सुरुवमा मोबाईल सेवा प्रवाह गर्ने उद्देश्य लिएर स्थापना भएको एनसेलमा तत्कालिन राजा ज्ञानेन्द्र शाहका ज्वाई राज बहादुर सिंह र हेटौडाका सामान्य व्यापारी अजेयराज सुमार्गीको समन्वयमा स्थापना भएको थियो । सुमार्गी र सिंहले लगानी नगरी गोल्डेन शेयर हात पारेका थिए ।
सो शेयर बेचेर राज बहादुर सिंह र सुमार्गी अहिले अर्बौ रुपैयाँका मालिक भइसकेका छन् । एनसेलमा सुरुवातदेखि नै सक्रिय व्यक्ति हुन सतिशलाल आचार्य । उनको एनसेलमा हिजोसम्म २० प्रतिशत शेयर रहेको थियो । अब उनको नाममा शत प्रतिशत शेयर भएको छ ।