साताको सेयर बजार कुन क्षेत्रमा देखियो सुधार ?

१६ मंसिर २०८०, शनिबार ११:३४

काठमाडौं । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो । सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले घटेसँगै नेप्सेले १८५८ विन्दुमा झरेर यो सातालाई बिदा गरेको छ ।

गत साता १८६० विन्दुमा रहेको नेप्से यो साता थप २ अंकले घट्न पुग्यो । समग्र साताभर नेप्सेको प्रदर्शन सन्तोषजनक हुन सकेन भने कारोबार रकममा सुधार देखिएको छ । साताभरका ५ कारोबार दिनमा कुल ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो । गत साता ४ कारोबार दिनमा ४ अर्ब ४६ करोडको कारोबार भएको थियो ।

यो साता बैंकिङ क्षेत्रका सेयरधनीलाई मूल्यमा थप नोक्सान पुगेको छ भने होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन् । यो साता होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २।७२ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक समूह सबैभन्दा धेरै १।१९ प्रतिशत घटेको छ ।

होटल समूहमा जम्मा ६ कम्पनी मात्रै सूचीकृत छन् । सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल यस समूहका कम्पनी हुन् । यो साता यी कुनै पनि कम्पनीको मूल्य घटेन । तारागाउँ रिजेन्सीको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो ।

यो वर्षको पहिलो त्रैमासमा अधिकांश होटलहरुको व्यवसाय र नाफा गत वर्षको सोही अवधिको तुलनामा बढेको छ । अर्कोतर्फ अक्टोबर महिनामा सबैभन्दा धेरै १ लाख १७ हजार विदेशी पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्यांक छ । नोभेम्बरमा पनि १ लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् भने डिसेम्बर महिना पनि सिजन भएकाले होटल क्षेत्रका लगानीकर्तालाई बिजनेस बढ्ने विश्वास देखिन्छ । त्यसको प्रभाव सेयर मूल्यमा परेको देखिन्छ ।

बैंकिङ तथा जलविद्युतमा जस्तो होटल तथा पर्यटन समूहको सेयर आपूर्ति उच्च छैन । नेप्सेमा सूचीकृत होटलको संख्या थोरै रहेको र तिनको सेयस आपूर्ति पनि सीमित भएकाले माग बढ्न जाँदा राम्रो मूल्य तय भएको लगानीकर्ताहरु बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*