आजियाटाले नेपाल छोड्दै, एनसेल ‘विक्रीमा’
काठमाडौं । मलेसियन कम्पनी आजियाटाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने घोषणा गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलबाट हात झिक्ने घोषणा गरेको हो । आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा व्यवसायिक सुरक्षा चुनौती गम्भीर हुँदै गएकाले सञ्चालक समितिले नै बाहिरिने निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।
एनसेलबाट हात झिक्ने घोषणासँगै उनले कम्पनी बिक्री गर्ने निर्णय समेत भएको बताएका छन् । एनसेलमा यो ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।
यसअघि स्वीडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो । त्यो बेला आजियाटाले सेयर किन्दा लाभकर नतिरेको विवाद अन्तर्राष्ट्रिय डिस्प्युटसम्म पुगेको थियो । शेयर किनेको ७ वर्ष मै हात झिक्न लागेको आजियाटाले एनसेलको व्यापार आरोलो लागेका कारण नेपाल छोड्ने निर्णयमा पुगेको बताइँदैछ ।
सन् ०२२ २३ मा एनसेलले ३७ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले ०२१/२२ मा ३९ अर्ब ७२ करोड, ०२०/२१ मा ४० अर्ब ४२ करोड र ०१९/२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको तथ्याङ्क छ ।
एनसेलले दूरसञ्चार क्षेत्रमा नेपाली बजारको ५४ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२० मा कम्पनीको ६१ प्रतिशत बजार हिस्सा थियो । प्रयोगकर्ता घट्दै जाँदा पछिल्लो समय बजार हिस्सा घट्दै गएको जनाएको छ ।