चार महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ८ अर्व ६२ करोड प्रथम बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ?
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा आठ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको कात्तिक महिनामा नौ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन करिब ५.४१ प्रतिशतले घटेको छ ।
कात्तिक महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कात्तिक महिनासम्ममा कुल २ अर्ब ११ करोड रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत कात्तिक महिनाको सोही अवधिमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन १९ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, नेशनल लाइफले कात्तिक महिनासम्ममा कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत कात्तिक महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय १६ दशमलव १४ प्रतिशतले बढेको पाएको छ ।
एलआइसी नेपालले ६७ करोड ६४ लाख रुपैयाँको नयाँ बीमा व्यवसाय आर्जन गरेको छ । गत कात्तिक महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय आर्जन ० दशमलव ४० प्रतिशतले घटेको हो ।
नयाँ व्यवसाय बृद्धिको आधारमा आइएमई लाइफ अग्रस्थानमा रहेको छ ।कात्तिक महिनासम्ममा कम्पनीको प्रथम बीमा शुल्क २८.१५ प्रतिशतले बृद्धि भई ३१ करोड २७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, हिमालयन लाइफले कात्तिक महिनासम्ममा ६२ करोड ६३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । कम्पनीले गत कात्तिक महिनासम्मा ७४ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । जुन १५ प्रतिशतले कम हो ।
सूर्यज्योति लाइफले कात्तिक महिनासम्ममा ३३ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ ।