टिकटकपछि अरु सामाजिक सञ्जाल पनि बन्द गर्ने तयारीमा सरकार

१३ मंसिर २०८०, बुधबार ११:१४

काठमाडौं । टिकटक प्रतिबन्ध गरेको सरकार भित्रभित्रै थप सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ । टिकटकमा जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि पनि सरकारले निगरानी सुरु गरेको एक सरकारी अधिकारीले बताएका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी, टिन्डर, टेलिग्रामजस्ता थप एपहरूमाथि निगरानी बढाइएको उनले बताएका छन् । बिगो लाइभ र लाइकी सिंगापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एप हुन् । यो एप पनि टिकटक जस्तै चिनियाँ कम्पनीले सञ्चालन गरिरहेका छन् ।

भारतले सन् २०२० मा टिकटकसँगै बिगो लाइभ, लाइकीसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । अनलाइन डेटिङ एप टिन्डर र म्यासेजिङ एप स्न्यापच्याट अमेरिकी एप हुन् भने टेलिग्राम रुसी म्यासेजिङ एप हो ।

रायमाझीले यस्ता एपहरुलाई एन्टी सोसल मिडियाको संज्ञा समेत दिएका छन् । यी सञ्जालहरु समाजमा नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउने गतिविधिको सारथी बनिरहेकाले प्रतिबन्धको विकल्प नभएको उनको भनाई छ ।
टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका १० वटा मुद्दा विचाराधीन छन् । सर्वोच्च अदालतले सरकारी निर्णयको कानूनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र लिखित जवाफ दिन भनी आदेश गरेको छ ।

स्न्यापच्याटमा पठाइएका तस्बिर र भिडिओहरू प्रापकले हेरिसकेपछि वा त्यसको केही समयपछि नै स्वतः डिलिट हुने सुविधाका कारण किशोर किशोरीहरूमाझ लोकप्रिय रहेको बताइन्छ ।

रायमाझीका अनुसार यस्ता अधिकांश एप यौनसम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदानका लागि प्रयोग भइरहेको र त्यसले धेरै नेपाली नागरिकहरूलाई असर पारेको कुरा प्रारम्भिक अध्ययनबाट देखिएको छ । प्रधानमन्त्री कार्यालयले त्यसबाहेक थप एपहरूबारे पनि निगरानी भइरहेको जनाएको छ ।

नेपाल प्रहरीका अनुसार साउनदेखि कात्तिकबीचको अवधिमा म्यासेन्जर प्रयोग गरेर भएका साइबर अपराधका उजुरी तीन हजार ७७८ छन् । यस अवधिमा दोस्रो धेरै उजुरी टिकटकसँग सम्बन्धित छन् । टिकटकको माध्यम प्रयोग भएर अपराध भएको जिकिर गर्दै ५४८ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*