अमेरिकाबाट ४० करोड भित्र्याउने पृथ्वी शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंक लिमिटेडले अमेरिकाबाट अवैध रुपमा ४० करोड रुपैयाँ भित्र्याउन विभिन्न व्यक्तिका नाममा २४ वटा भन्दा धेरै कम्पनी खडा गरेर शंकास्पद कारोबार गर्ने पृथ्वी बहादुर शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्ने भएको छ ।
नेपाल बैंक लिमिटेडको कर्जा असुली विभागले पृथ्वी र उनका सहोदर भाई विजयविक्रम साहका नाममा कुपन्डोल शाखामा धितोका रुपमा राखिएको सुनचाँदी लिलामीका लागि १५ दिने सूचना जारी गरेको छ । लीलामीको सूचनामा पृथ्वीका दाजुभाईसहित १२ जनाको नामावली प्रकाशित भएको छ ।
पृथ्वी र उनका भाई अहिले पनि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनीहरुको समूहमा रहेका १९ जनाविरुद्ध ठगि र कीर्तेसहित चारवटा अभियोगमा मुद्दा चलाएको छ । यो प्रकरणमा १३ जना अझै फरार रहेका बताइन्छ ।
रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत बैंक एकाउण्टमा पहुँच राख्ने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको रहस्य पहिल्यै खुलिसकेको छ । भारतको वेस्ट बंगालबाट काम गर्ने गरेको भए पनि नम्बर भने अमेरिकन नै देखिने गरेको तथ्य सीआईबीले फेला पारेको छ । अहिलेसम्म उनीबाट पीडित हुनेको संख्या ५६ जना रहेको खुले पनि २४ जनाले मात्रै जाहेरी दिएका बताइएको छ ।
साहको काठमाडौं महानगरपालिका -७ भत्केकोपुल नजिकैको निर्माणाधीन घरमा छापा मारेर सीआईबीले त्यो बेला झण्डै चार किलो सुन र केही किलो चाँदी, ल्यापटप बरामद गरेको थियो ।