कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण गर्ने अन्तिम तयारीमा हमाल, शेयर बजार थप संकटमा पार्ने खेल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले तत्कालै कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण गर्ने योजना बनाएका छन् । हिजोका लागि राखिएको बैठक एकाएक स्थगित गरेका हमालले आगामी शुक्रबारसम्म धितोपत्र बोर्डको बैठक राखेर कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण गर्ने तयारी गरिरहेका छन् ।
हिजो अपरान्ह साढे चार बजेका लागि राखिएको बैठक एकाएक आधा घण्टा अगाडि स्थगित गरेका थिए । स्रोतका अनुसार सो सम्बन्धी समाचार बीमापोष्टसहितका सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि आधा घण्टा अगाडि बैठक स्थगित गरिएको थियो । हमालले अर्थमन्त्रीलाई समेत थाहा नदिई बैठक राखेका थिए । समाचार बाहिर आएपछि हमालले लाइसेन्स वितरण गर्न लागेको भन्दै व्यापक खुल्दिुली मच्चिएको थियो ।
सरकारलाई समेत थाहा नदिई हमालले कमोडिटी एक्सचेन्ज सम्बन्धी निर्णय गर्न लागेको चर्चा अर्थ मन्त्रालयमा चलिरहेको छ । स्रोतका अनुसार कमोडिटी एक्सचेन्जको लागि रकम घुस रकम लिइसकेका हमालले कुनै पनि हालतमा धितोपत्र बोर्डबाट विदा हुनुअघि कमोडिटी एक्सचेन्जको लाईसेन्स दिएर मात्रै बाहिरिने भन्दै अडान लिइरहेका छन् ।
यता, लगानीकर्ताहरुले कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स जारी भई कारोबार सुरु भएपश्चात लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भई शेयर बजार अहिलेको भन्दा पनि झनै दयनीय बन्न सक्ने चेतावनी दिएका छन् । शेयर लगानीकर्ताहरुले लगानीको दायरा फराकिलो हुने वित्तिकै हालको पुँजि बजार थप चापमा परेर बिक्रीकर्ताहरु बढ्ने चेतावनी दिएका छन् ।
देशको अर्थतन्त्र नै कमजोर बनेर ध्वस्त भएको बेला नयाँ नयाँ लाइसेन्स खुल्ला गरेर अर्थतन्त्रलाई डुबाउने कार्यमा सेबोन लागि परेको चर्चा लगानीकर्ताहरुका बीचमा चलिरहेको छ ।