खारेजीको संघारमा गुण एयरलाइन्स, अन्तिम प्रयास गर्दै शाक्य
काठमाडौं । वायुसेवा कम्पनी गुण एयरलाइन्स खारेजीको संघारमा पुगेको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको हवाई सुरक्षासम्बन्धि शर्त पूरा गर्न नसकेका कारण ९ महिनादेखि गुण एयरलाइन्स बन्द छ । गुणले कर्मचारीको दायित्व भुक्तानी गर्न सकेको छैन भने बाँकी बक्यौता बढ्दै गएको छ । प्राधिकरणले गएको वर्ष फागुन ९ मै गुण एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो ।
गुणको वित्तीय अवस्था कमजोर हुँदै जाँदा पाइलट, इन्जिनियर तथा कर्मचारीले नियमित पाउनुपर्ने तलब, अत्यावश्यक तालिम प्रभावित भएको र अत्यावश्यक पाटपुर्जा किन्न नसकेर उड्डयन सुरक्षा प्रभावित हुने भन्दै प्राधिकरणले उडानमै रोक लगाइदिएको हो ।
प्राधिकरणले ६ महिनासम्मको लागि गुण एयरको उडान अनुमति (एओसी) निलम्बन गरेको थियो । एओसी निलम्बनमा परेको समय गुज्रिएको तीन महिनासम्म पनि उडानमा फर्किन नसकेको र उडानको सुनिश्चित आधार समेत पेश गर्न नसकेको भन्दै प्राधिकरणले एओसी खारेज प्रक्रिया अघि बढाएको छ ।
नागरिक उड्डयन निमायली २०५८ मा प्राधिकरणले ६ महिनासम्मलाई मात्रै उडान अनुमति निलम्बन गर्न सक्ने व्यवस्था छ । एओसी निलम्बनको यो व्यवस्थाअनुसार समय सकिएकाले एओसी खारेजीको प्रक्रिया अघि बढाइएको प्राधिकरणको भनाइ छ ।
एओसी खारेज गर्नुअघि सम्बन्धित वायुसेवालाई सफाइ पेश गर्ने मौका दिनुपर्ने व्यवस्था पनि नियमावली छ । नियमावलीको व्यवस्था अनुसार प्राधिरकणले गुणलाई अन्तिम मौका दिएको छ । एओसी निलम्बनमा परेको ९ महिनासम्म पनि वायुसेवाले पुनः उडान गर्ने नसकेको, कर्मचारीको दायित्व पूरा गर्ने नसकेको, प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता चुक्ता नगरेको, वायुसेवाले राखेको १ करोड बैंक ग्यारेन्टी जफत गरिएकोसहितका कारणले गुणको एओसी खारेज हुने सम्भावना बढेर गएको छ । गुणले भने अन्तिम मौका दिन निवेदन गरेको छ ।
प्राधिकरणले बैंक ग्यारेन्टी जफत गरेपछि गुण एयरलाइन्सले गएको मंसिर ४ गते एओसी जोगाइदिन र मन्त्रालयबाट इजाजतपत्र नवीकरणसमेत गराउनुपर्ने समय भएकाले सिफारिस दिन माग गरेको हो । प्राधिकरणलाई पठाएको पत्रमा गत महिनाबाट प्राधिरकणलाई तिर्न बाँकी रकम मासिक ५० लाख रुपैयाँका दरले तिर्ने प्रतिवद्धता गरेको छ । उसले पहिलो पटक कात्तिकमा ५० लाख बुझाइसकेको र मंसिरमा पनि ५० लाख रुपैयाँ बुझाउने प्रतिवद्धता गरेको छ ।
प्राधिरकणलाई गुण एयरलान्सले करीब ५ करोड रुपैयाँ बुझाउन बाँकी छ । बैंक ग्यारेन्टीवापत १ करोड रुपैयाँ जम्मा गरेको र बाँकी रकमसमेत तिर्दै जाने प्रतिबद्धतासहित उडान अनुमति पुनः सुरु गर्न गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले लेखेको पत्र प्राधिकरणमा पुगिसकेको छ ।
९ वर्षअघि घरजग्गा व्यवसायमा समस्या आएपछि गुण ग्रुपको नाममा सञ्चालित गुण एयरलाइन्सको बहुमत शेयर सिम्रिक एयरले किनेको थियो । करिब ७ वर्ष सिम्रिक एयरलाइन्सका नाममा उडेको जहाजलाई गुण ग्रुपका अध्यक्ष शाक्य कोरोना महामारीपछि पुनः फिर्ता ल्याउन सफल भए । तर, उचित व्यवस्थापन मिलाउन सकेनन् ।
गुणले रिब्रान्डिङ गर्ने गरी झण्डै १ अर्ब रुपैयाँ खर्चिएर यती एयरलाइन्सका ५ वटा जहाज किनेको थियो । कम्पनीले ७ वटा जहाज जोडजाम गरे पनि एकसाथ ४ वटासम्म मात्रै जहाज उडाउन सकेको थियो । यो वायुसेवाले २ वटा डोर्नियरमा एउटा मात्रै र ५ वटा जेटस्ट्रिममा २ वटामात्रै उडाउन सकेको थियो ।
१९ र २९ सिट क्षमताका जहाजले ७२ सिट क्षमताको अरु वायुसेवाका जहाजसँग प्रतिस्पर्धा गर्न कठिनाई भएको बताइन्छ । गुण एयरलाइन्ससँग २ वटा १९ सिट क्षमताको डोर्नियर, ३० सिटको १ र २९ सिट क्षमताका ४ वटा जेटस्ट्रिम, ३० सिटको १ वटा जेटस्ट्रिम गरी ७ वटा जहाज छन् ।
यीमध्ये ५ वटा जेटस्ट्रिम नामका जहाज करिब ३ वर्ष अगाडिमात्रै यती एयरलाइन्ससँग खरिद गरेको थियो । यो वायुसेवासँग भएको अर्को २ जहाज भने सिम्रिक एयरलाइन्सबाट लिएको थियो । गुण एयरलाइन्सले ५ वटा जेटस्ट्रिम बिक्री गरेर नयाँ विकल्पको खोजी गर्न खोजेको छ ।