मुद्दा मिलाइदिने बहानामा घुस लिने ‘सई’ रंगेहात पक्राउ
१२ मंसिर २०८०, मंगलवार १६:२३
काठमाडौं । औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिने एक प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घुससहित पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । साउदलाई ईलाका प्रहरी कार्यालयको मुद्दा शाखाबाट ३० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साउदले लागू औषधको मुद्दा मिलाउन सहजीकरण गरिदिने प्रयोजनका लागि घुस लिएको खुल्न आएको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।