७० हजार बीमितले जीवन बीमा कम्पनीबाट पाए बीमा दावी भुक्तानी
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को पहिलो त्रैमासमा ७० हजार बढी बीमितलाई दावी भुक्तानी गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीहरुले उक्त दावी भुक्तानी गरेका हुन् ।
चालु आवको तीन महिनामा जीवन बीमा कम्पनीहरुले ७० हजार १६६ जना बीमितलाई बीमा दावी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको दावी भुक्तानी १६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा ६० हजार ४८० जनालाई बीमा दावी भुक्तानी गरेको छ ।
पहिलो त्रैमासको तथ्यांक केलाउदा नियामक निकाय बीमा प्राधिकरणको बीमा दावी वर्ष सार्थक बनाउन नेपाल लाइफ, नेशनल लाइफ र एलआइसी नेपालले जोड गरेको देखिन्छ । बीमा प्राधिकरणले आम सर्वसाधारणमा बीमाको पहुँच बिस्तार गर्न बीमा दावी भुक्तानी सहज र सरलीकृत हुनुपर्छ भन्दै आइरहेको छ ।
आम जनमानसमा बीमा दावी भुक्तानी रकम समयमा नपाउने र प्रक्रियागत झन्झटलाई लिएर बीमा गर्न समेत हिच्किचाहत गर्ने अवस्थामा पुगिसकेको हुदा अझै पनि यस्तो समस्या निराकरण नहुदा बीमाप्रतिको विश्वास नै नरहने भन्दै प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस विषयमा केन्द्रित भएर लाग्न समेत निर्देशन दिई सकेको छ ।
बीमा कम्पनीहरुले प्राधिकरणको बीमा दावी वर्ष सफलताका साथ अघि बढाउन लागि रहेपनि पूराना दावीको कारण समस्या निरन्तर रहीरहेको बीमाकर्मीहरु बताउन्छन् ।
पछिल्लो समय बीमा प्राधिकरणको नियमन र कम्पनीहरुको प्रतिस्प्रधा तथा जनचेतनाका कारण कम्पनीहरुले गर्ने दावी भुक्तानीको संख्या बृद्धि भएको छ । बीमितहरुले पनि समयमा आफ्नो दावी भुक्तानी पाएको खण्डमा मात्रै बीमा कम्पनीहरुप्रति विश्वास गर्ने प्रबृद्धि रहेको छ ।
समीक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा बीमितलाई दावी भुक्तानी गरेको छ । जसको कारणले नेपालीहरुले कम्पनीलाई सजिलै विश्वास गर्ने वातावरण बनेको छ । कम्पनीले यस अवधिमा २० हजार २९१ जनालाई बीमा दावी भुक्तानी गरेको छ ।
चालु आवको तीन महिनामा नेशनल लाइफ बीमा दावी भुक्तानीको आधारमा दोस्रो स्थानमा रहेको छ । यस अवधिमा कम्पनीले १५ हजार १०४ जना बीमितलाई दावी भुक्तानी गरेको छ ।
एलआइसी नेपालले १२ हजार ३१ जना, सूर्यज्योति लाइफले पाँच हजार ४३० जना, सानिमा रिलायन्स लाइफले पाँच हजार २ सय जना, मेट लाइफलाई चार हजार ८०५ जना र सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले तीन हजार ३११ जना बीमितलाई दावी भूक्तानी गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १ हजार २२६ जना, सिटिजन लाइफले एक हजार १२१ जना, रिलायबल नेपाल लाइफले ६२१ जना, आइएमई लाइफले ४५० जना, एशियन लाइफले २८८ जना, सन नेपालले २३० जना र प्रभु महालक्ष्मी लाइफले ५८ जनालाई बीमा दावी भुक्तानी गरेको छ ।
बृद्धिदरको आधारमा
सानिमा रिलायन्स लाइफको बीमा दावी संख्या सबैभन्दा बढी अंकले बृद्धि भएको छ । कम्पनीको यस्तो दावी भुक्तानी संख्याँ ३७०.५९ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, आइएमइ लाइफको १४१ प्रतिशत, सूर्यज्योति लाइफको ८७.३७ प्रतिशत र एशियन लाइफको ७७ प्रतिशतले बीमा दावी भुक्तानी संख्या सर्वाधिक बृद्धि भएको छ ।
समीक्षा अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र प्रभु महालक्ष्मी लाइफको बीमा दावी भुक्तानी संख्या सर्वाधिक अंकले घटेको वित्तीय विवरणले देखाएको छ ।