अमेरिकी र यूरोपेली कम्पनीको सुरक्षाका लागि चिनियाँ राष्ट्रपति सीले गरे महत्वपूर्ण आदेश

१२ मंसिर २०८०, मंगलवार १५:२५

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले मल्टिनेशनल अर्थात् अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण आदेश दिएका छन् । बेइजिङले बिरामी अर्थतन्त्र तथा कठोर कारबाहीबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेका बेला राष्ट्रपति सीको यस्तो आदेश आएको हो ।

भू-राजनीति, जासुसी विरोधी कानून, बहुराष्ट्रिय कम्पनीमाथि छापा र घरेलु प्रतिस्पर्धीका लागि अनुकूल व्यवहारले मनोबलमा असर पारेको भन्दै चीनमा अमेरिकी र युरोपेली कम्पनीहरूले व्यापार गर्न पहिले भन्दा निकै नै कठिन भएको बताउँदै आएका छन् ।

बेइजिङले विदेशी कम्पनीलाई फिर्ता पठाउने कोसिस गरिरहेको छ । यसैमहिना एपीइसीका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा राष्ट्रपति सीले एक लिखित सम्बोधनमा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई लगानी गर्न निमन्त्रणा गर्दै ‘विदेशी कम्पनीहरूका लागि चीनमा लगानी र सञ्चालनलाई सहज बनाउनका लागि’ आनन्ददायी उपायको बाचा गरेका थिए ।

साथै मुलुकको शीर्ष निर्णय लिने निकाय चीनको कम्युनिष्ट पार्टी पोलिटब्युरोको सोमबार बसेको बैठकमा राष्ट्रपति सी’ले चीनले विदेशी संस्थाहरूसँग ‘व्यापक, खुला र पारदर्शी’ कानूनी व्यवहार सुनिश्चित गर्नुपर्ने बताएको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ ।

चीनमा अस्पष्ट तथा स्वेच्छाचारी नियमबारे विदेशी उद्यमहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । उनीहरूले बौद्धिक सम्पत्तिको चोरी मुख्य गुनासो रहेको बताएका छन् । यसै वर्ष चीन भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूले बौद्धिक सम्पत्तिको चोरीको मुद्दा उठान गरेका थिए ।

सुस्त वृद्धि र भूराजनीतिक तनावले लगानीको सम्भावनालाई प्रभावित गरेको भन्दै अमेरिकी र युरोपेली उद्यम लबीले सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौैंयता कै सबैभन्दा न्यूनस्तरमा पुगेको चेतावनी दिएका थिए । यद्यपि अमेरिका-चीनको बढ्दो व्यस्तता र यसै महिना सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटवार्तापछि यी मुद्दामा सुधार हुनसक्ने संकेत व्यापारिक संगठनहरुले पाएका छन् । -एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*