‘टियु टपर’ले पाउँदै आएको तीन तोलाको गोल्डमेडल यो वर्षदेखि रोकियो, उपकुलपति पदक कायमै

१२ मंसिर २०८०, मंगलवार १३:५१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तीन तोला सुनको ‘कुलपति पदक’ अबदेखि नदिने भएको छ । त्रिविले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने अर्थात् टपरलाई ‘कुलपति पदक’ प्रदान गर्दै आएकोमा त्यसका हकदार नै छुट्याउन नसकिने अवस्था आएपछि पुरस्कार नै कटौती गर्नु परेको हो ।

त्रिवि परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्प जोशीका अनुसार ग्रेडिङ प्रणालीका कारण टपर छान्न नसकिने अवस्था आएपछि प्राज्ञ परिषदको निर्णयबाटै यो कटौती गरिएको हो । गएको वर्ष ‘फोर’ जीपीए ल्याउने ४ जना देखिएपछि पदक कस्लाई दिने भन्ने निधो गर्न सकिएन, परीक्षा नियन्त्रक जोशीले बीमापोष्टसँग भने, ‘यो पल्ट २० जनाले फोर जीपीए ल्याएका छन् । अब तीन तोला सुन जटित मेडल २० जनालाई कसरी बाँड्ने । २० जनालाई नै टपर घोषणा गर्ने प्राक्टिश पनि कतै छैन ।’

ग्रेडिङ प्रणालीको अन्तर्राष्ट्रिय अभ्यास अनुसार ३.९९ जीपए ल्याउने र ३.९१ ल्याउने दुबै फोर जीपीएमा पर्छन् । त्यसरी फोर जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको छ, उनले अगाडि भने, ‘टपर छान्नै नसकिएपछि मास्टरमा यसलाई निरन्तरता दिन सकिएन । तर, ब्याचलर लेभलमा भने उपकुलपति पदकले निरन्तरता पाउँछ । स्नातकमा सेमेस्टर प्रणाली भए पनि प्रतिशतका आधारमा नजिता गणना गरिने भएका कारण उपकुलपति पदकले निरन्तरता पाउँछ ।’
जोशीले अगाडि भने, ‘सबै संकायमध्येबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई दिइने पदक हट्यो । ग्रेडिङ प्रणालीका कारण कुन विद्यार्थी टपर हो भनेर छुट्याउन गाह्रो भयो ।’

२०१६ देखि ४८औँ दीक्षान्त समारोहसम्म सो पदक वितरण गरिएको थियो । आगामी २ पुसमा हुने ४९औँ दीक्षान्त समारोहबाट यो पदक कटौती हुनेछ । स्नातक तह र अन्य विभाग टपरहरूलाई दिने पदक तथा पुरस्कार भने कटौती गरिएको छैन । स्नातक तहमा अध्ययन गर्नेमध्ये एकजना उत्कृष्ट विद्यार्थीलाई एक तोला सुन जडित उपकुलपति पदक प्रदान गर्ने गरिएको छ । विषयगत विभागअन्तर्गत २७ वटा मेडल वितरण गरिन्छ । यी मेडलमा विभाग टपरलाई १० आनासम्म सुनजडित पदक दिने गरिन्छ ।

यो पल्टको दीक्षान्त समारोहमा ७४ हजार विद्यार्थी दीक्षित हुँदै छन् । फाराम भर्ने संख्या भने १२ हजार पाँच सय मात्रै छ । दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा त्रिवि कुलपति प्रचण्ड कार्यक्रममा सहभागि हुने टुंगो लागिसकेको छ । -तस्वीर : वेब

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*