प्रहरीलाई ढुंगा हानेको आरोपमा दुर्गा प्रसाईंका स्वकीयसहित १५ जना पक्राउ
काठमाडौं । प्रहरीलाई ढुंगामुढा गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जना पक्राउ परेका छन् । प्रसाईंका स्वकीय सचिव थापालाई गौशाला प्रहरी वृत्तमा राखिएको बताइएको छ । दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले स्वकीय सचिव थापालाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका सबै अहिले प्रहरी हिरासतमा छन् ।
यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो । उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ ।
भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेतलगायत पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले बताए ।