दुर्गा प्रसाईंलाई प्रधानमन्त्री प्रचण्डको सुझाव– ‘पछाडि फर्किनेहरुको इतिहास लेखिन्न’
काठमाडौं । नागरिक बचाऊको नाममा अनिश्चितकालीन आन्दोलन छेडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रधानमन्त्री प्रचण्डले पछाडि फर्किनेहरुको इतिहास नलेखिने भन्दै प्रतिगमनको बाटो नरोज्न सुझाव दिएका छन् ।
सामाजिक सुरक्षा कोषको छठौं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रसाईं समूहले छेडेको आन्दोलनतर्फ लक्षित गर्दै ‘पछाडि फर्किनेहरुको इतिहास लेखिँदैन, अगाडि बढ्नेहरु स्वयंले इतिहास लेख्छन्’ भन्दै प्रतिकात्मक सुझाव दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका मानिसलाई मात्र नभई उनीहरुको परिवारलाई समेत आवश्यक सेवा सुविधा उपलब्ध गराइने बताए । ‘वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्व गर्न आएका सम्पूर्ण समस्यालाई सक्दो चाँडो सामाधान गरिनेछ’ उनले भने ।
सामाजिक सुरक्षा कोषले विभिन्न करार कर्मचारी, कामदार तथा वैदेशिक रोजगारमा रहेका श्रमिकलाई उद्देश्य अनुसार समेट्न नसकेकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका न्यून आय भएका नागरिक तथा सुकुम्बासीहरुको समस्या सामाधान गर्न आवश्यक नीति तथा विधि सरकारले तयार गरिसकेको र चाँडै सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
जलवायु परिवर्तनको समस्यालाई लक्षित गर्दै उनले, ‘विश्वका विकसित राष्ट्रहरुले औद्योगिक विकासको नाममा अपनाएका हरितगृह कार्यक्रमहरुले जलवायु परिवर्तनको समस्या बढ्दै गएको छ । जसका कारण हामी नेपालीले गर्दै नगरेको गल्तीको सजाय भोगिरहनु परेको छ । यस विषयमा पनि मैले संयुक्त राष्ट्र संघमा आवाज उठाएको छु’ भनेका छन् ।