ठेकेदारलाई बढी रकम भुत्तानी दिने तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । ठेकेदारलाई बढी रकम भुत्तानी दिएवापत सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रमुख चौधरीकासाथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सव–इन्जिनियर हर्षलाल चौधरीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
नगरपालिकाको रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा बढी रकम भुक्तानी गरेको अभियोगमा तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध मुद्दा परेको हो ।
न्यौपाने, दाहाल, इन्जिनियर चौधरी र सव–इन्जिनियर चौधरीविरुद्ध २ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद एवं जरिवाना गरी बिगो रकम असुलउपर गर्न माग गरिएको छ । उनीहरुले फर्जी बिल स्वीकृत गरी बढी रकम भुक्तानी गरेको आरोप छ ।
यसैगरी, तत्कालीन उपप्रमुख चौधरी, वडा–३ का तत्कालीन अध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरीविरुद्ध स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्युटमा हस्ताक्षर गरी गलत प्रतिवेदन दिने कसुर गरेकाले कैद र जरिवानाको माग गरिएको छ ।
ठेकेदार कम्पनी जालपा सिद्ध निर्माण सेवाका प्रबन्धक नानु कुमारी निरौला (बस्नेत)विरुद्ध २ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी बिगो जफत र सजाय माग गरिएको छ ।