भूकम्प अपडेट : रुकुम पश्चिममा मृत्यु हुने ३५ मध्य २८ जनाको पहिचान खुल्यो (नामावलीसहित)
काठमाडौं । मध्यरातमा गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्यमा पहिचान खुलेका १८ जना आठविसकोट नगरपालिकाका र १० जना सानी भेरी गाउँपालिकाका हुन् ।
भूकम्पको चपेटामा परी आठविसकोट नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामीको मृत्यु भएको छ ।
यस्तै, आठविसकोेट नगरपालिका वडा नम्बर १२ सानीबार्खु बस्ने वर्ष १४ को रमेश पुन र वर्ष १३ को डिल बहादुर के.सी., वडा नम्बर १४ को वर्ष वासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता वि.क., वर्ष १३ को मदन गौतम र वर्ष ८३ को करे नेपालीको पनि मृत्यु भएको छ ।
पूर्वी रुकुम घर भई आठविसकोट नगरपालिका वडा नम्बर १४ मा कोठा भाडामा बस्ने गाडी चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भई कामको सिलसिलामा रुकुमपश्चिम पुगेका वर्ष ४७ को खड्का वि.क. र वर्ष ३६ को अनिल वि.क.को पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, सानी भेरी गाउँपालिका वडा नम्बर १ चाइना बगर बस्ने वर्ष ३१ को धनवीर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २ परियार टोल बस्ने वर्ष १२ की मनीषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली (रेगन) र वडा नम्बर १ की ६० वर्षीया सरस्वती बिकको मृत्यु भएको प्रहरीले बताएको छ ।
शुक्रवार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।