शेयर बजार अपराधीको कब्जामा, लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा, कसले सुनिदिने पीडा ?
समाचार टिप्पणी
काठमाडौं । अपराधिक पृष्ठ भूमिका व्यक्ति तथा माफियालाई पृष्ठपोषण गर्ने सरकारी नीति र लगानीकर्तामाथि उत्ताउलो नियमन गर्ने मौद्रिक नीतिका कारण साधारण लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । विगत छ महिनादेखि शेयर बजारमा निराशा बढ्दो छ । शेयर मूल्य लगातार घटिरहेका छन् । यस्तो समयमा घाटामा गएका कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ जारी गरेर अर्बौ रुपैयाँ लगानीकर्तालाई झुक्याएर उठाउन सफल भएका छन् । नेपाली शेयर बजारमा भइरहेको यो गम्भीर आर्थिक अपराधमा नेपाल सरकारकै संलग्नता छ, भन्दा अन्यथा मान्नुपर्ने अवस्था छैन ।
नियामक नेपाल धितोपत्र बोर्ड नै यसको मुख्य मतियार बनेर लगानीकर्तामाथि ज्यादती गरेर सीमित व्यापारी र माफियालाई पोस्न उद्दत छ । केही समयअघि घाटामा गएको नागरिक दैनिकलाई गैर कानूनी रुपमा आईपीओ जारी गर्न दिएर आर्थिक अपराध गरेको धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ जारी गर्न अनुमति दिएर अर्को अपराध गर्यो। अहिले फेरि सोनापुर सिमेन्टको प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर अर्बौ रुपैयाँ संकलन गर्ने आर्थिक अपराधको मतियार बन्न पुगेको छ, सेबोन ।
गलत नीति, नीतिगत भ्रष्टाचार हुने निर्णयबाट ३३ खर्बभन्दामाथि लगानी रहेको नेपाली शेयर बजार अहिले गम्भीर र अत्यन्तै संकटपूर्ण अवस्थामा पुगेको छ । शेयर बजार लगातार घट्दै जाँदा कतिपय लगानीकर्ताहरु शेयर बजारबाट पलायन हुने र कतिपय आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । शेयर बजारलाई माथि उकास्ने ठोस सरकारी नीतिको अभाव, टाट पल्टिन लागेका कम्पनीलाई अर्बौ रुपैयाँ उठाउन पाउने गरी प्रिमियम मूल्यमा आईपीओ जारी हुने मेलोमेसो मिलाइदिने सेबोनको बदमासीबाट लगानीकर्ताहरु निराश मात्रै नभई पलायन हुने अवस्थामा पुगेका दुःखेसोहरु सर्वत्र सुनिन थालेका छन् ।
नेपाली शेयर बजारमा तीन वर्षअघि एउटा उत्साह, उमंग र स्वर्ण काल सुरुवात भएको थियो । जसबाट शेयर कारोबारबाट पनि जीवन गुजारा गर्न सकिन्छ भन्ने उद्देश्यले थुप्रै मानिसहरु अन्य पेशा व्यवसाय छोडेर यस क्षेत्रमा लगानी गर्न होमिए । जब दैनिक कारोबार २२ अर्ब भइरहेथ्यो र लाखौं मानिसहरु शेयर बजारमा कारोबार गर्दै थिए, नेप्से परिसूचक ३२०० को बिन्दुमा थियो । त्यही बेला हो नेपाली शेयर बजारमा माफियाको आँखा लागेको । परिणामतः डुबेका कम्पनी र भविष्यमा लाभांश वितरण गर्नै नसक्ने कम्पनीहरु समेतले आईपीओ र प्रिमियम मूल्यमा आईपीओ जारी गरे । त्यसैको एउटा उदाहरण हो नागरिक मिडियाको आईपीओ र सोनापुर सिमेन्ट अनि घोराही सिमेन्टको प्रिमियम मूल्यका आईपीओ। सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ पनि त्यहि मार्काको हो भन्ने कुरा थाहा पाउन अब धेरै पर जानु परेन । सेबोनको चालढालबाटै पुष्टि भइसक्यो । प्रश्न उठ्छ-नेपालमा बुक बिल्डिङमा आईपीओ जारी गर्ने बेला भएको छ ? नेपालको खनिज प्रयोग गरेर, वातावरण दोहन गरेर सिमेन्ट उत्पादन गर्ने अनि शेयर चाँहि बुक बिल्डिङमा निष्काशन गर्न दिने ? राज्य यो भन्दा निर्वस्त्र हुने ठाउँ कहाँ बाँकी रहन्छ र ?
नेपाल धितोपत्र बोर्ड आपराधिक मानसिकता भएका, नव धनाड्य एवं नव पूँजीपतिलाई मात्रै सर्वश्रेष्ठ ठान्ने र नेपालको संविधान एवं प्रचलित कानून समेतलाई नचिन्ने ‘नटवरलाल’हरुको हातमा पुग्यो । ती अन्तर्राष्ट्रिय माफियाहरुलाई सुरुमा लगानीकर्ताले चिन्न सकेनन् र उल्टै वाहवाही गर्न पुगे । आमूल सुधारका नाममा (जसरी सर्वोच्च न्यायालयमा आमूल सुधारका नाममा माफियाहरुले रजगज जमाए) लगानीकर्तालाई मख्ख पारेर दोहनको सञ्जाल विछ्याइयो । त्यसैको आडमा अहिले डुबेका कम्पनी सोनापुर सिमेन्ट र घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति दिएर लगानीकर्तालाई लुट्न दिइयो । यसबाट सेबोनका हाकिम, पिउन र उच्च नेतृत्वले कति घुस खाए भविष्यमा कसै न कसैले कुनै न कुनै पुस्तकमार्फत सार्वजनिक गर्लान नै । चिन्ताको कुरा चाँहिः उठ्नै नसक्नेगरी थला पारिएको नेपाली शेयर बजार त्यसअघि नै कोमामा जाने खतरा बढेर गयो ।
आफैं झाँक्रि आफैँ को नि के भने झैँ नियामक आफै भ्रष्टाचार, जालझेल, षडयन्त्र र संविधानवि विपरीत उग्रपूँजीवादको पक्षमा बौलाहा साँढे झै हिडेपछि लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुग्नु स्वाभाविक नै होला । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले संसदको अर्थ समितिमा छलफलको लागि बोलाउँदा भर्खर सांसद बनेका माननीयहरुको नलेज ग्याबको फाइदा उठाए । बेस्सरी कुर्लिए । नेपाली पूँजीबजारमा आफैं नै संसारको जान्ने (लाल बझुक्कड) धितोपत्र प्रशासक भन्ने भाष्य स्थापित गर्दै लगानीकर्तामाथिको ‘माफिया दोहन’लाई थप मलजल गरे ।
सुरुमा ब्रुकब्रुक उफ्रिएका लगानीकर्ता ठक्कर खाएपछि अहिले आफैं थला परेका छन् । नेपाल धितोपत्र बोर्डले चलाएको कमाउ धन्दाअघि उनीहरु निम्छरो साक्षी बन्न पुगेका छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने नेपालमा प्रचलन नै नभएको अवस्थामा चरम पूँजीवादको व्याख्या गर्दै सेबोनले घाटामा रहेको कम्पनीलाई समेत १०० रुपैयाँमा आईपीओ जारी गर्न दिएर सरासर अपराध गरेको छ । यो आर्थिक अपराधको पक्षमा बोल्ने कसले ? सबै तैचुप मै चुप । अरु मिडियालाई पनि यही मोडलमा आईपीओ र प्रिमियम मूल्यमा आईपीओ जारी गर्नुपर्ने जो छ ।
लगानीकर्ताहरु एकातिर धितोपत्र नियामकको दोहन र अर्कोतिर केन्द्रीय बैंकको उग्र नियमनीकरणको सिकार बन्न पुगेका छन् । केन्द्रीय बैंकले करिब ३३ खर्ब कूल पूँजीकरण रहेको शेयर बजारलाई सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानेर ऋण प्रवाहमा कडाई गर्दै आएको छ । त्यस्तै, ब्याजदर घटाउनेतर्फ केन्द्रीय बैंकले कुनै भूमिका खेलेको छैन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैं नीतिगत भ्रष्टाचारमा लिप्त बन्दै केही लाख रुपैयाँको लागि जुका झै व्यवहार गरेर मौद्रिक नीतिमाथि समीक्षा गर्दै ठूला व्यापारिक घरानाले लिएको कर्जा तिर्नै नपर्ने गरी नविकरण गर्न छुट दिँदै आएका छन् । साना लगानीकर्तालाई हलचल गर्न नसक्ने बनाउने र ठूला व्यापारिक घरानाहरुलाई ऋण नतिर्ने छुट दिएर देशलाई गम्भीर भड्खालोमा हाल्ने काममा केन्द्रीय बैंकका गभर्नर आफैं सक्रिय छन् । यसअघिको सरकारले हटाउन खोज्दा समेत नमानी जुका कै शैलीमा टास्सिएर बसेका गभर्नर अधिकारी हाल देशले भोगिरहेको गम्भीर आर्थिक संकटको एउटा केन्द्रविन्दु हुन् । राजनीतिक स्वार्थ र माफियासँगको सेटिङमा लगानीकर्तालाई आत्महत्या गर्न बाध्य पार्ने नेतृत्व राष्ट्र बैंकमा रहँदासम्म नेपाली लगानीकर्ताले उन्मुक्तिको सास फेर्न नपाउने देखिन्छ ।
रोचक त के छ भने शेयर बजारका लगानीकर्ताको अभूतपूर्व समर्थनबाट निर्वाचनमा बिजयी भएका स्वतन्त्र पार्टीका नेता र सांसदहरु प्रिमियम मूल्यको आईपीओका विषयमा एक शब्द पनि बोल्न तयार छैनन् । रास्वपाका सांसद हरि ढकाल आफै लगानीकर्ता समेत हुन् । उनी चितवनबाट अत्यधिक मतसहित बिजयी समेत भए । तर, शेयर बजारमा भइरहेको नियामकीय दोहनबारे चुईक्क सम्म बोलेका छैनन् । अर्का अर्थविद तथा रास्वपा पार्टीका प्रभावशाली नेता स्वर्णिम वाग्लेप्रति नेपाली जनताले धेरै आशा गरेका छन् । तर, निर्वाचनमा सबैभन्दा अग्रपंक्तिमा उभिएर सहयोग गरेका लगानीकर्ताको पक्षमा वाग्लेले एक शब्द पनि बोलेका छैनन् । अझ, प्रिमियम मूल्यको आईपीओ संविधानको प्रस्तावना विपरीत भएकाले आवाज उठाउन आग्रह गर्दा समेत वाग्लेले कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।
अन्य दलहरु दलालकै दानापानीमा चल्ने भनिए पनि स्वतन्त्र भनिएको रास्वपा समेत लगानीकर्तामाथि नेपालको नियामकीय क्षेत्रबाट भइरहेको ब्रह्मलुट र दोहनमाथि मौन रहनुले शंका जन्माउँछ । हिजो निर्वाचनमा सबैभन्दा अग्रपंक्तिमा रहेर खटिएका लगानीकर्ताहरु अहिले आफ्नै नेताबाट आहत महसुस गरिरहेका छन् । आज भँगेरे टाउके प्रश्नबाचक लागेको छ, लगानीकर्ताको पक्षमा बोलिदिने यो देशमा को छ ?
वास्तविक ।
आवश्यक जानकारी बिना अगाडि पछाडि नहेरी हल्लाको भरमा अन्धाधुन्ध लगानी गर्ने लगानीकर्ताहरू पनि सेयर बजारमा आएको समस्याका जिम्मेवार हुन।